दिवालीको रात भारतमा भीषण आगलागीः कतै परिवारै, कतै सिंगो बजार जल्यो

२३ कात्तिक २०८३, सोमबार
Share this
772shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

विश्वभर छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुले मनाउने विशेष पर्व तिहार, अहिले धुमधामका साथ मनाइरखिएको छ । शुक्रबार धनतेरसका दिनदेखि नै तिहारको रौनक विशेषगरी नेपाल र भारतमा देखिएको छ । एउटै धर्म भएपनि भारत र नेपालमा पर्व मनाउने कतिपय तरिकाहरु, चलन, मान्यताहरु फरक फरक छन्

जसरी चाड मनाइने गरिएको त्यो हेर्दा भारतमा भन्दा अझ बढी नेपालमा विविधता छ । जस्तो कि यहाँ काग तिहार, कुकुर तिहार, गोवद्र्धन पुजासहित मनाइरहँदा भारतमा भने लक्ष्मी पूजाको दिनमात्रै विशेष हुने गरेको छ । नाममा पनि फरक छ । यहाँ हामीले तिहार भनिरहँदा भारतमा दिवाली, वा दीपावली भन्ने गरिएको छ ।

Advertisement

यस्तै यहाँ भाइटीका लगाइँदा उता पनि भाइदुज मनाइन्छ । अर्थात पर्व उही हुन्, मनाउने तरिका कुनै फरक, कुनै समान छन् । अर्को समानता भनेको तिहारलाई उज्यालो पर्वका रुपमा मनाउनु । दुवै छिमेकमा यो बेला दियो वा झिलिमिली बत्तिको निकै प्रयोग हुन्छ ।

यस्तै समानरुपमा पटाका पड्काउने पनि गरिएको छ । र यसबाट हुनसक्ने जोखिम पनि दुवैतर्फ उत्तिकै छ । हरेक वर्षजसो तिहारका बेलामा नेपाल र भारतका विभिन्न ठाउँमा आगालागी, वा पटाकाका कारण ठुलो दुर्घटना हुने गरेको छ । यो दुखद पक्षले यो वर्ष पनि छाडेन ।

हिजो लक्ष्मी पूजाका दिन भारतका विभिन्न जिल्लामा भीषण आगलागी भएका छन्, जसमा परि दर्जनबढीको ज्यान समेत गएको छ । यता नेपालमा पनि पटाका पड्काउँदा आज विहान एक बालकको ज्यान गएको छ । पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको हो ।

पकहामैनपुर गाउँपालिका– २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन् । आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । अस्पताल पु¥याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता कैलालीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतबार राती भीषण आगलागी भएको छ ।

नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीयको भनाई छ । व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो ।

सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए । धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए । बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ ।

पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ । आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए । एक आपसमा टाँस्सियर पसल बसेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन् ।

बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ । उता दिवाली तथा लक्ष्मीपूजाका दिन आइतबार राति खुसियाली मनाउने क्रममा पटाका र अन्य कारण आगलागी हुँदा भारतका विभिन्न क्षेत्रमा कयौंको ज्यान गएको छ । जसमा एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।

साथै घटनामा धेरै जना घाइते भएका छन् भने केही बेपत्ता भएका छन् । भारतीय अनलाइन दैनिक भास्करका अनुसार सबैभन्दा बढी मध्य प्रदेशमा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । यस्तै महाराष्ट्रको धाराशिव जिल्लामा आगलागीबाट किराना पसलमाथिको घरमा बस्ने एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशको कटनी र सिवनी जिल्लामा भएका दुई फरक घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मध्यप्रदेशको कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति करिब ११ः३० बजे भीषण आगलागी भएको थियो ।

पूरन अग्रवाल र रितेश अग्रवालको भाँडाकुँडा पसलमा अचानक आगो लागेको थियो । पसलमाथि नै उनीहरूको परिवार बस्दै आएको तीनतले घर थियो । पसलबाट सुरु भएको आगो केही समयमै पूरै भवनमा फैलियो । आगलागी हुँदा परिवारका सदस्यहरू घरभित्र सुतिरहेका थिए । आगो र धुवाँ तीव्र रूपमा फैलिएकाले उनीहरूले बाहिर निस्कने अवसरसमेत पाएनन् ।

घटनामा परिवारका ६ सदस्यको जलेर मृत्यु भयो । मृतकमा दुई वृद्धवृद्धा, एक महिला र तीन बालबालिका रहेका छन् । आगलागीबाट एक पुरुष र एक महिला भने जसोतसो बाहिर निस्केर ज्यान जोगाउन सफल भएका थिए । आगलागीको खबर पाएलगत्तै स्थानीय बासिन्दाले उद्धार प्रयास सुरु गरेका थिए ।

त्यसपछि बरही, विजयराघवगढ, कैमोर र कटनी नगर निगमका दमकल टोली घटनास्थल पुगेका थिए । त्यसैगरि, सिवनी जिल्लाको छपारा नगरमा पनि अर्को हृदयविदारक आगलागी भएको थियो । छपारा नगरको महावीर वार्डस्थित जैन मोहल्लामा सोमबार बिहान करिब ३ बजे सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा अचानक आगो लागेको थियो ।

राति सबैजना सुतिरहेका बेला लागेको आगो तीव्र गतिमा फैलियो । घरभित्र रहेका मानिसहरूले बाहिर निस्कने अवसर पाएनन् । घटनामा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । लखनादौनका एसडीओपी अपूर्व भलावीका अनुसार आगलागी हुँदा घरमा कुल १० जना उपस्थित थिए ।

तीमध्ये ६ जनाको मृत्यु भएको छ भने चार जनालाई सुरक्षित उद्धार गरिएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । आगलागीको सूचना पाएपछि प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाको सहयोगमा उद्धार अभियान सञ्चालन गरी घरभित्र फसेका मानिसहरूलाई बाहिर निकालिएको थियो ।

दुवै घटनामा आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । यस्तै मुम्बईको लोखन्डवाला जिल्लामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । यसैगरी राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

आगलागीमा परी तीन पसल र धेरैवटा दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । दिल्लीको नरेलामा रकेट पटाका पड्किएर पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । राजधानी दिल्लीस्थित नजफगढको नांगली सकरावतीमा रहेको एक गार्मेन्ट (कपडा) कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिन दिल्ली फायर सर्भिसका २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका थिए । दमकल विभागले दिएको जानकारी अनुसार घटनास्थलमा आगो नियन्त्रणपछि चिसो बनाउने (कुलिङ अपरेसन) चलाइएको थियो । सुरक्षालाई ध्यानमा राख्दै उद्धार कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको भारतीय पत्रिका जागरणले लेखेको छ । हाल दिल्लीभर ७१ वटा फायर स्टेशनहरूलाई २४सै घण्टा पूर्ण रूपमा सक्रिय अवस्थामा राखिएको छ । त्यस्तै, साँघुरा गल्लीहरूमा तत्काल पुग्न सहज होस् भनेर ५० वटा क्विक रेस्पोन्स भेहिकल र २० वटा फस्र्ट रेस्पोन्डर मोटरसाइकल तैनाथ गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top