नरेशलेलाई मृत्युदण्ड हुन्छ कि आजीवन कैद,ममतालाई मारेको ठहर

२६ कात्तिक २०८३, बिहीबार
Share this
728shares

२६ कार्तिक , काठमाण्डौ ।     करिब ६ हप्तासम्मको सुनुवाइपछि अमेरिकामा बेपत्ता नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनियास्थित अदालतले मंगलबार नरेशविरुद्ध ’फस्र्ट–डिग्री मर्डर’ (गम्भीर प्रकृतिको हत्या) मा दोषी पाइएको फैसला गरेको हो। साथै भट्टले काफ्लेको शवको अपमान गरेको र त्यसलाई लुकाएको ठहर पनि गरेको छ। यसअघिको सुनुवाइमा नरेशले काफ्ले बेडरुममा मृत भेटिएको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए। तर मंगलबार बहसको अन्तिम चरणमा सरकारी वकिलले जुरीलाई भट्टको ‘मनगढन्ते र बेतुकका कुरा’मा विश्वास नगर्न आग्रह गरेका थिए।

Advertisement

वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी (सरकारी वकिल) सारा सामीले भनिन्, ‘प्रतिवादी (नरेश) ले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’ ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँ (ल्यान्डफिल) लाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ ’हराइरहेकी’ हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि ’हराएकी’ छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा–टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ’, सामीले थपिन्।प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएका भट्टलाई कम्तीमा २० वर्षदेखि बढीमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ। शव लुकाएको र अपवित्र पारेको अन्य कसुर प्रत्येकमा पाँच÷पाँच वर्षसम्म कैद हुन सक्छ। भट्टलाई हुने सजाय अब मार्च महिनामा सुनाइनेछ।ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए। त्यसपछि प्रहरी ममताको दम्पती बस्ने घरमा पुगेको थियो। नरेशले सुरुमा ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए। त्यसबेला उनले ममता घर छाडेर जान चाहेको र सम्बन्ध विच्छेदको कुरा गरेको पनि प्रहरीसँग दाबी गरेका थिए। नरेशले अगस्ट ५ मा औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए। तर परिवार र साथीहरूले ममता सानी छोरी छाडेर कसैलाई खबर नगरी घरबाट निस्केको कुरामा विश्वास गरेनन्। यसपछि प्रहरीले २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। ममताको शव अहिलेसम्म फेला परेको छैन।भट्टलाई दोषी ठहर गरेपछि अब उनीहरूको तीन वर्षीया छोरीको भविष्यबारे चासो बढेको छ। आमाको हत्या र बाबु जेलमा पुग्ने अवस्थाबीच बालिकाको पालनपोषण, कानुनी अभिभावकत्व र भविष्यको बसोबास मुख्य प्रश्न बनेको हो । अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार बालिकाको हेरचाह अहिले ममताकी आमा गीता काफ्ले र उनका दाजु महेश काफ्लेले गरिरहेका छन्। उनीहरू सन् २०२४ मा नेपालबाट अमेरिका पुगेका थिए। ममता बेपत्ता भएपछि सुरुमा बालिकालाई स्थानीय सामाजिक सेवा निकाय र पारिवारिक साथीको अस्थायी संरक्षणमा राखिएको थियो। पछि ममताका आमा र दाजु अमेरिका पुगेपछि उनीहरूले बालिकाको रेखदेख गर्दै आएका छन्।अहिले बालिका तीन वर्षकी भएकी छन्। ममताको परिवारले उनलाई आमाको मायाबाट वञ्चित हुन नदिने प्रयास गरिरहेको छ। तर, अदालतबाट स्थायी अभिभावकत्व कसलाई दिने भन्ने अदालतले तोकिसकेको छैन ।

नरेश दोषी ठहरिँदैमा उनको अभिभावकीय अधिकार स्वतः रद्द भएको भने छैन । भर्जिनियाको कानुनअनुसार बच्चाको अभिभावकत्व र भेटघाटसम्बन्धी निर्णय गर्दा अदालतले सबैभन्दा पहिले बालबालिकाको हितलाई प्राथमिकता दिन्छ। सामान्य अवस्थामा बाबु वा आमामध्ये कुनै एकलाई स्वतः प्राथमिकता दिइँदैन। तर, बच्चाको अर्को अभिभावक अर्थात् आमाको हत्या गरेको कसुरमा दोषी ठहर भएको अवस्थामा कानुनले विशेष व्यवस्था गरेको छ।भर्जिनिया कोडको धारा अनुसार बच्चाको कानुनी अभिभावक वा संरक्षणको जिम्मेवारी पाएको व्यक्तिले अदालतमा निवेदन दिएर आमाको हत्या गर्ने बाबुलाई निश्चित अवधिसम्म छोरीको अभिभावकत्व वा भेटघाटसम्बन्धी निवेदन दिनबाट रोक्न माग गर्न सक्छ। यस्तो रोक अधिकतम १० वर्षसम्म हुन सक्छ। तर, यसका लागि अदालतले त्यस्तो निर्णय बालिकाको सर्वोत्तम हितमा रहेको ठहर गर्नुपर्छ। त्यस्तै, अदालतले पर्याप्त प्रमाणका आधारमा हजुरआमा, हजुरबुबा वा अन्य नजिकका आफन्तलाई पनि बालिकाको अभिभावकत्व वा भेटघाटको अधिकार दिन सक्छ।

Advertisement

नरेशले छोरीलाई भेट्न पाउने वा नपाउने विषय पनि स्वतः निर्धारण भइसकेको छैन। अमेरिकी कानुनमा जेलमा रहेका अभिभावकले समेत भेटघाट वा अभिभावकत्वका लागि अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ। तर, यस मुद्दामा आमाको हत्यामा दोषी ठहर भएकाले बालिकाको सुरक्षा, मानसिक अवस्था र हितलाई ध्यानमा राखेर अदालतले भेटघाटमा रोक लगाउन वा निगरानीमा मात्र भेट्न दिने व्यवस्था गर्न सक्छ।अदालतले भेटघाटसम्बन्धी छुट्टै आदेश नदिएसम्म नरेशले जेलबाटै छोरीलाई भेट्न पाउने निश्चित छैन।
ममताको परिवारले छोरीलाई नेपाल ल्याउने कि अमेरिकामै राख्ने भन्ने विषयमा पनि अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक गरेको छैन। ममता बेपत्ता हुँदा उनका आमाबुवाले नेपालबाट अमेरिका जाने तयारी गरेका बेला छोरीलाई सम्भव भए नेपाल ल्याउने र सम्भव नभए अमेरिकामै बसेर हेरचाह गर्ने बताएका थिए। सन् २०२४ अगस्टमा ममताकी आमा गीता र दाजु महेश अस्थायी आपत्कालीन भिसामा अमेरिका पुगेका थिए। उनीहरू त्यहाँ पुगेपछि नातिनीको रेखदेखमा सहयोग गरेका थिए। अहिले पनि उनीहरू अमेरिकामै रहेर बालिकाको हेरचाह गरिरहेका छन् । बालिकालाई नेपाल ल्याउनका लागि उनको कानुनी अभिभावकत्व, यात्रा अनुमति, राहदानी तथा अमेरिकी अध्यागमनसम्बन्धी प्रक्रिया मिलाउनुपर्ने हुन्छ।

विशेषगरी अदालतले कसलाई कानुनी संरक्षणको अधिकार दिन्छ भन्ने कुराले बालिकाको अन्तर्राष्ट्रिय यात्रामा प्रभाव पार्न सक्छ। त्यसैले ममताकी आमाले चाहँदैमा तत्काल बालिकालाई नेपाल ल्याउन सक्ने अवस्था भने हुँदैन् ।ममताकी आमा र दाजु सुरुमा आपत्कालीन तथा अस्थायी प्रकृतिको भिसामा अमेरिका पुगेका थिए। अमेरिकी अध्यागमन नियमअनुसार अस्थायी भिसामा रहेका व्यक्तिले निश्चित सर्त पूरा गरी बसाइ अवधि थप्न वा आफ्नो अध्यागमन हैसियत परिवर्तन गर्न निवेदन दिन सक्छन्। तर, यस्तो सुविधा स्वतः प्राप्त हुँदैन। निवेदकको भिसा प्रकार, बसाइको उद्देश्य, आर्थिक अवस्था र अन्य कानुनी मापदण्डका आधारमा निर्णय हुन्छ।नरेशसँग अदालतको फैसलाविरुद्ध अपिल गर्ने कानुनी अधिकार छ। भर्जिनियाको कानुनअनुसार दोषी ठहर भएको व्यक्तिले राज्यको कोर्ट अफ अपिलमा फैसलाको पुनरावलोकन माग्न सक्छ। अपिलका क्रममा प्रतिवादी पक्षले सुनुवाइमा कानुनी त्रुटि भएको, प्रमाणको मूल्याङ्कनमा गम्भीर गल्ती भएको वा कानुनी प्रक्रियामा समस्या रहेको आधार प्रस्तुत गर्नुपर्ने हुन्छ। मुद्दामा संलग्न नरहेका एक वकिलका अनुसार नरेशले अपिल गरेको खण्डमा पनि अपिल सफल हुने सम्भावना निकै कमजोर रहेको छ । उनका अनुसार नरेशले अदालतमा आफैँ साक्षीका रूपमा उभिएर पत्नीको शव टुक्राटुक्रा पारेको र लुकाएको स्वीकार गरेका छन् ।

नरेशलाई आगामी १२ मार्च २०२७ मा सजाय सुनाउने मिति तोकिएको छ। उनीमाथि प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव लुकाएको र शवको अपमान गरेको कसुरमा थप सजायसमेत हुन सक्छ।फैसलापछि ममताको परिवारका सदस्यहरू अदालत परिसरमै भावुक बनेका थिए। अमेरिकी सञ्चारमाध्यमका अनुसार परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हालेर राहत र दुःख मिश्रित प्रतिक्रिया दिएका थिए। सरकारी वकिल एमी एशवर्थले फैसलाले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि भोगिरहेको पीडाबीच न्यायको अनुभूति गराउन सक्ने बताइन् । ममताकी नजिककी साथी तथा पूर्वसहकर्मी होली विर्थले बालिकालाई परिवार र साथीहरूले विशेष संरक्षणमा राखेको बताएकी छिन् । उनले बालिकालाई ‘मिनी ममता’ भनेर सम्बोधन गर्दै अहिले उनको जीवनमा माया, सुरक्षा र खुसी कायम राख्नु सबैभन्दा महत्त्वपूर्ण रहेको बताइन् । बालिका नाच्न मन पराउने र आमाजस्तै हँसिली रहेको उनको भनाइ छ। फैसलापछि स्थानीय नेपाली समुदायका सदस्यहरू पनि अदालतबाहिर भेला भएका थिए। भट्ट दोषी ठहर भएको फैसला सुनाइँरहँदा काफ्लेका साथी र स्थानीय नेपालीहरू अदालत भवनबाहिर भेला भएर खुसियाली मनाइरहेका थिए। नेपाली समुदायले लामो समयदेखि चासोका साथ हेरिरहेको यो घटनामा दोषी ठहर भएपछि ममताले न्याय पाएको प्रतिक्रिया दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top