३० कार्तिक , काठमाण्डौ । झापाका एक युवा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नामसहितको स्टाटस लेखेकोकेही घण्टापछि मृत भेटिएका छन् । ‘जुन इनमको मोबाइल ह्वाटस्एपबाट आएको म्यासेज भनिएको त्यो मेरो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचिरहेका नाटक मात्र हो’, झापाको कनकाई नगरपालिका– ३ का ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु)ले शनिबार (कात्तिक २८गते) फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले परिवारको कुनै दोष नरहेको र दोष आफ्नो भएको भन्दै समाजिक सञ्जालमार्फत आएका आरोपहरू सत्य नभएको जानकारी गराए। अर्को दिन आइतबार फेरि अर्को स्टाटस लेखे र भने– ‘मेरो गल्तीको सजाय मेरो परिवारलाई नदिनु होला। म आफूले आफैँलाई सजाय दिने छु।’ बिहान ५ः३२ बजे उनले पछिल्लो स्टाटस लेखे। त्यसपछि उनी करिब ७ः३० बजे आफ्नै घरको दोस्रो तल्लामा कोठाभित्र मृत फेला परेका थिए।
उनको मृत्युसँगै बिचौलियाको आरोपमा हिरासतमा रहेका इनम सापकोटासँगको सम्बन्धबारे विभिन्न प्रश्न उठेको छ। खतिवडा आफैले इनमको मोबाइलबाट म्यासेज आएको खुलाएपछि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले सोमबार बिहान घरबाटै उनको फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष पाठकले मोबाइल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिए। आइतबार उनको मोबाइल फेला परेको थिएन।पाठककाअनुसार बरामद गरिएको मोबाइल फोन थप परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको छ। इनमसँग सम्बन्ध रहेका विभिन्न विवरण सार्वजनिक भए पनि पुष्टि नभएको प्रहरी अधिकारीले बताए। सामाजिक सञ्जालमा इनमसँग उनको परिवारको कुराकानी भएको विषय सार्वजनिक भएको थियो। उक्त विषय सार्वजनिक भएपछि नै सापकोटाले फेसबुकमा स्टाटस लेखेर त्यसको खण्डन गरेका थिए। उनको भद्रपुर अस्पतालमा पोस्टमार्टम गरेर परिवारले शव बुझेको डिएसपी पाठकले जानकारी दिए। कनकाई– ३ का वडाध्यक्ष युवराज चम्लागाईकाअनुसार खतिवडाको घर कनकाई– ३ कालिकास्थानमा पर्छ। त्यसको करिब ५ किलो मिटर टाढा कनकाई–८ लक्ष्मीपुरमा उनले फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन्। उनी अविवाहित हुन्। प्रहरीले खतिवडाले थुनामा रहेका बिचौलिया इनम सापकोटाको नाम लिएको विषयसँग सम्बन्धित थप अनुसन्धान गरिरहेको छ।मृत्यु हुनुअघि सामाजिक सञ्जालमा लेखिएका उनका स्टाटसमा प्रहरी हिरासतमा रहेका भनिएका सापकोटाको नामसमेत उल्लेख भएपछि घटनाले थप चर्चा पाएको हो।आफ्नो पारिवारिक सदस्यलाई आफूले गरिरहेको साधनाबारे जानकारी नभएको र उक्त साधना गलत नरहेको उनको भनाइ छ। तर उनले स्टाटसमा उल्लेख गरेको इनम को हुन्, कस्तो साधना गरिरहेका थिए र बुबालाई फसाउन खोज्ने व्यक्ति को हुन् भन्ने विषय भने खुलाएका छैनन्।खतिवडाका छिमेकी लीलाराज झापालीले इनमसँग उनको सम्बन्धबारे आफूलाई जानकारी नभएको बताएका छन्।
बाल्यकालदेखिका साथी रहेका खतिवडा पछिल्ला केही दिनदेखि मानसिक समस्यामा रहेको उनले बताए। परिवारले पनि उनको समस्याबारे समयमै जानकारी पाउन नसकेको झापालीको भनाइ छ।यता, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले पनि खतिवडा मानसिक समस्यामा रहेको बुझिएको बताएकी छन्। इनमसँगको सम्बन्धबारे हालसम्म कुनै तथ्य खुलिनसकेको उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने बताइन्। प्रहरी उपरीक्षक खड्काले भनिन्, ‘कसैको कुनै कनेक्सन रहेछ भने अनुसन्धानपछि मात्र खुल्ने र अहिले नै यसै भन्न सक्ने अवस्था छैन।’ उनका अनुसार मृतकको पोस्टमार्टम भइसकेको छ भने परिवारले शव बुझेर अन्त्येष्टिसमेत गरिसकेको छ।यसैबीच नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान रहस्यपूर्ण देखिएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी नदेखिएको र थप रहस्यपूर्ण देखिएको बताएका हुन् । उनले इनम सापकोटा प्रकरणमा राज्यको अस्वभावित हस्तक्षेप समेत देखिएको उल्लेख गरे । पछिल्लो समय प्रधानमन्त्रीका नाममा सबै क्षेत्रलाई आतंकीत बनाउन खाजेको र प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आएको बताएका छन् । लोकतन्त्रमा जनता सार्वभौम हुने भएपनि जनप्रतिनिधिमूलक निकायप्रति कार्यकारी उत्तरदायी हुन नसकेको उनको भनाइ छ । महासचिव पोखरेलले दलको नेता भए पनि दलको बैठकको अध्यक्षता नगर्ने, पार्टीका वरिष्ठ नेता भए पनि पार्टीका बैठकमा नजाने र राजनीतिक दलहरूसँग संवाद नगर्ने परिदृश्य देखिएको बताए ।
इनम सापकोटा पछिल्लो समय नेपालका राजनीतिक, प्रशासनिक, सुरक्षा तथा न्यायिक वृत्तमा चर्चामा आएका व्यक्ति हुन्। ३१ वर्षीय सापकोटा कुनै औपचारिक सरकारी पदमा नरहे पनि प्रधानमन्त्रीको सचिवालयदेखि प्रहरीका उच्च अधिकारी, न्यायाधीश, पूर्वन्यायाधीश र व्यवसायीसम्म सम्पर्कमा रहेको विवरण सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । उनको नाम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा खुलेको थियो।प्रहरी अनुसन्धानअनुसार सापकोटाले अदालतमा मुद्दा मिलाइदिने, प्रहरी अधिकारीहरूको सरुवा तथा बढुवामा सहयोग गर्ने र विभिन्न सरकारी काममा पहुँच प्रयोग गरिदिने आश्वासन दिएको देखिने सन्देशहरू फेला परेका छन्। ठेक्कापट्टामा चासो देखाएको, संवेदनशील सूचना आदानप्रदान गरेको तथा आर्थिक कारोबार र विदेशमा सम्पत्ति व्यवस्थापनमा भूमिका खेलेको आशंकामा पनि अनुसन्धान भइरहेको छ।
अनुसन्धानमा सार्वजनिक भएका विवरणअनुसार उनको सम्पर्क सञ्जालमा चोलेन्द्रशमशेर जबरा, दीपक भट्ट र सुलभ अग्रवाल, नवराज थपलिया र दीपक तिमिल्सिना, बालकृष्ण खाण, दीपक खड्का र उमेश श्रेष्ठ, वंशीराज दाहाल लगायत रहेको दाबी गरिन्छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन अर्थात् कुमार ब्यञ्जनकारको नाम पनि यो प्रकरणमा जोडिएको छ। प्रधानमन्त्रीको नाम प्रयोग गरेर विभिन्न काम गराउने गरेको सापकोटामाथि आरोप लागेको छ। प्रधानमन्त्री सचिवालयले भने उनले प्रधानमन्त्रीको नाम दुरुपयोग गरेको बताएको छ।
सापकोटाको मोबाइल हिरासतबाट बाहिर रहँदा कुमार बेनको पहुँचमा पुगेको र त्यसबाट संवाद भएको विषयमा पनि प्रश्न उठेका छन्। यसको वास्तविकता र अनुसन्धानमा परेको प्रभावबारे विवाद कायमै छ।सापकोटामाथि सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। पछि विदेशी विनिमय, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि थपिएको छ। सिंगापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट रहेको विवरणका आधारमा विदेशमा सम्पत्ति व्यवस्थापन तथा आर्थिक कारोबारको स्रोतबारे समेत छानबिन भइरहेको छ। उनलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमतीले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिसकेको छ।



