४ मंसिर , काठमाण्डौ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सम्मानित भएको छ ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१ । ०८२ मा ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा इम्पेरियल सेक्युरिटिजलाई सम्मान गरेको हो ।


मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको हातबाट कम्पनीका प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीले सम्मानपत्र ग्रहण गरेका थिए ।
कर न्याय र सुशासनको सुनिश्चितता समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइएको राष्ट्रिय कर दिवसका अवसरमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र तथा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरी वि. सं. २०६८ भदौ १५ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको इम्पेरियल सेक्युरिटिजले पुँजी बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले हाल पूर्ण सेवा धितोपत्र दलाल सेवा फुल सर्भिस स्टक ब्रोकरेज, डिपोजिटरी पार्टिसिपेन्ट डीपी सेवा तथा मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदै आएको छ ।
काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालयसहित भक्तपुर, धादिङ, पोखरा, नेपालगञ्ज र वीरेन्द्रनगरमा शाखा कार्यालयमार्फत कम्पनीले सेवा विस्तार गरेको छ ।
अनलाइन कारोबार सुविधामार्फत देश तथा विदेशमा रहेका लगानीकर्तालाई समेत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
त्यस्तै, लगानीकर्तालाई थप सहज बनाउने उद्देश्यले कम्पनीले मार्जिन कारोबार सुविधाअन्तर्गत उपलब्ध गराइने कर्जाको ब्याजदर तथा सेवा शुल्कमा कटौती गरेको जनाएको छ ।
कम्पनीका अनुसार न्यूनतम एक महिनादेखि अधिकतम १२ महिनासम्मका लागि वार्षिक ६.९५ प्रतिशतदेखि ७.९५ प्रतिशतसम्मको ब्याजदरमा मार्जिन कारोबार कर्जा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले प्राप्त गरेको सम्मानलाई आफ्नो व्यावसायिक निष्ठा, वित्तीय अनुशासन, पारदर्शिता र जिम्मेवार व्यावसायिक अभ्यासको प्रतिफलका रूपमा व्याख्या गरेको छ ।
सम्मानले आगामी दिनमा थप जिम्मेवार, पारदर्शी, प्रविधिमैत्री तथा लगानीकर्ताकेन्द्रित सेवा प्रदान गर्न प्रेरणा मिलेको उल्लेख गर्दै कम्पनीले नेपालको पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।



