६ मंसिर , काठमाण्डौ । इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी सेनाको ’प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका दुईवटा राडारलाई निसाना बनाइएको दाबी गरेको छ । बीबीसी फारसीका अनुसार ती राडार अल–रिफा र अवलीका दुई सैन्य अड्डामा छन् । रिभोलुसनरी गाड्र्सका अनुसार आक्रमण मिसाइल र ड्रोन प्रयोग गरेर गरिएको थियो । रिभोलुसनरी गाड्र्सको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण इरानको हवाई क्षेत्रको निरन्तर उल्लंघन र यसविरुद्ध आक्रामक कारबाहीको प्रतिक्रियामा गरिएको हो ।’ विज्ञप्तिअनुसार दुई अमेरिकी सैन्य टोही ड्रोन एक एमक्यू–१ र एक एमक्यू–९ इरानको हवाई क्षेत्रमा प्रवेश गरेपछि कारबाही गरिएको हो ।
रिभोलुसनरी गाड्र्सले चेतावनी दिँदै अगाडि भनेको छ, ‘इरानको हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि देश वा आक्रामक शक्तिले कडा र निर्णायक जवाफ पाउनेछ।’यसअघि इरानी सेनाले आफ्नो वायु रक्षा प्रणालीले शुक्रबार साँझ अमेरिकी एफ–१६ जेटमा मिसाइल प्रहार गरिएको दाबी गरेको थियो । यता अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले फारसको खाडीमा इरानले आफ्नो लडाकु विमानमा मिसाइल हानेको दाबी गलत भएको बताएको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानले शुक्रबार कुनै पनि अमेरिकी एफ–१६ लडाकु विमानमा आक्रमण गरेको छैन।’ सेन्टकम अगाडि भनेको छ, ‘मध्यपूर्वमा रहेका सबै अमेरिकी लडाकु विमान पूर्ण रूपमा सुरक्षित छन्।’ यता इरानले भने आफ्नो मिसाइलले अमेरिकी जेटमा क्षति भएपछि एयरबेसमा आपत्कालीन अवतरण गर्न बाध्य भएको दाबी गरेको थियो । यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘टिकाउ र दीर्घकालीन’ सम्झौता मात्र चाहेको बताएका छन् । फक्स न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मलाई कहिल्यै पनि शासन परिवर्तनमा धेरै रुचि छैन। केही मानिस शासन परिवर्तनको कुरा गर्छन्, तर तपाईंले यसको अर्थ के हो भनेर व्याख्या गर्न सक्नुपर्छ।’उनले अगाडि भनेका छन्, ‘मैले पहिले नै दुई शासन समाप्त गरिसकेको छुः समूह एक र समूह दुई। अब हामी समूह तीनसँग काम गरिरहेका छौँ। त्यसैले तपाईं यसलाई अन्तिम शासन परिवर्तन पनि भन्न सक्नुहुन्छ।’ ट्रम्पका अनुसार तेस्रो समूहको प्रवृत्ति पनि धेरै फरक छैन । उनले भनेका छन्, ‘हुनसक्छ ऊ धेरै समझदार छ। तर ऊसँग काम गर्न धेरै गाह्रो छ। मेरो मतलब हामी सम्झौता गर्छौं तर ऊ भोलिपल्टै तोड्छ।’ उनले आफू इरानसँग दीर्घकालीन सम्झौतामा पुग्न चाहेको बताए ।
ट्रम्पले भने, ‘यदि ४, १५ वा २० वर्षमा एक अयोग्य राष्ट्रपति सत्तामा आए पनि इरानले आणविक हतियार प्राप्त गर्न सक्नेछैन।’यता इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस पनि सहमत नरहेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार प्रकाशित ‘इरान डेली’सँगको अन्तर्वार्तामा उनले आणविक नीतिमा परिवर्तन गर्ने विषय व्यापक र गम्भीर बहसको विषय बनेको बताए । “इरानको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस पनि विपक्षमा छन्,” अराघचीले भने । चीन र रुस दुवैको इरानसँग रणनीतिक सहकार्यसम्बन्धी सम्झौता रहेको छ । उनले अहिलेसम्म इरानको आणविक नीतिमा कुनै परिवर्तन नभएको र यससम्बन्धी आधिकारिक धारणा पहिले जस्तै कायम रहेको स्पष्ट पारे । इजरायल र अमेरिकासँगको युद्धका क्रममा इरानका आणविक केन्द्रहरूमा आक्रमण भएपछि त्यहाँको राजनीतिक वृत्तमा आणविक नीतिमा परिवर्तन गर्नुपर्ने बहस पुनः चर्किएको छ। विशेषगरी कट्टरपन्थी समूहका नेताहरूले आणविक नीतिमा परिवर्तनको माग गर्दै आएका छन् ।

नीति परिवर्तनका पक्षधरहरूले आणविक हतियार विकास गर्ने बाटो खुला भएमा त्यसले इरानको प्रतिरोधात्मक क्षमता बलियो बनाउने तर्क गर्दै आएका छन् । यसैबीच, इरानले सुरक्षा चुनौती देखाउँदै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई आफ्ना आणविक केन्द्रहरूको निरीक्षण गर्न रोक लगाएको छ । अमेरिकाले र इजरायलले गरेका आक्रमणको निन्दा गर्न एजेन्सी असफल भएको आरोप पनि इरानले लगाउँदै आएको छ । गत साता संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले इरानलाई आफ्ना प्रमुख आणविक केन्द्रहरूमा निरीक्षकलाई पुनः प्रवेश दिन क्रमिक कदम चाल्न आग्रह गरेको थियो । त्यस्तो पहुँच अत्यन्त महत्त्वपूर्ण रहेको एजेन्सीको भनाइ थियो ।
इरानी अधिकारीहरूले सामूहिक विनाशका हतियार, विशेषगरी आणविक हतियार विकास गर्न निषेध गर्ने पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको धार्मिक आदेश (फतवा) लाई आफ्नो नीतिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् । अराघचीले आणविक नीतिलाई यथावत् राख्नुपर्ने र परिवर्तन गर्नुपर्ने दुवै पक्षका आ–आफ्नै तर्क तथा आधार रहेको बताए । गत फेब्रुअरी २८ मा तेहरानस्थित आफ्नो निवासमा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनी मारिनुभएको थियो। त्यसपछि इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेसँगै क्षेत्रीय युद्ध चर्किएको थियो । उनका छोरा मोज्तबा खामेनी मार्चमा नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त हुनुभएको भए पनि त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्। उनले आफ्ना पिताको आणविक हतियार विकास नगर्ने धार्मिक आदेश उल्ट्याउने कुनै नयाँ निर्णयसमेत जारी गरेका छैनन् ।
यसैबीच उता इरान युद्धका लागि थप ३५० अर्ब डलरको बजेट माग र रक्षा मन्त्रालय पेन्टागनका विषयमा अमेरिकाको संसद् (कंग्रेस) मा मतभेद बढेको छ । यसले क्रिसमसअघि अमेरिकी संघीय सरकारका कामकाज बन्द हुने सम्भावना बढाएको छ । रोयटर्सको रिपोर्टअनुसार दुवै प्रमुख दलका सांसदले मतभेदले सरकारी बजेटमा सहमति हुन कठिन देखिएको बताएका छन् । अमेरिकी सरकारको मौजुद बजेट डिसेम्बर ११ सम्मका लागि मान्य छ । त्यसकारण संघीय सरकारी विभागका लागि थप कोषमा सहमति जुटाउन गर्न सांसदहरूसँग लगभग तीन हप्ताको समय छ । मतभेद खासगरी अमेरिकी सिनेटमा तीव्र देखिएको छ, जहाँ दुवै पक्षको सहमतिमा ल्याइएको बजेट पारित गर्न १०० सांसदमध्ये कम्तीमा ६० जनाले समर्थन जनाउनुपर्छ ।
अमेरिकी संसद्ले हप्ताभरि थ्याङ्क्सगिभिङ बिदाका लागि कामकाज रोक्ने तयारी गरिरहेको बेला दुवै दलका सांसदहरूबिच मतभेद देखिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार भर्मन्टका डेमोक्र्याटिक सिनेटर पिटर वेल्चले हालै भनेका थिए, ‘सबैभन्दा ठुलो समस्या के हो भने हामी न युद्धका लागि आर्थिक सहयोग गर्न चाहँदैनौँ, न हामी सरकारका कामकाज बन्द गर्न चाहन्छौँ। यस्तो अवस्थामा यसको समाधान कसरी निस्केला?’ उनले थपे, ‘यो यति जटिल समस्या हो, जुन सुल्झाउन कठिन छ।’



