७ मंसिर , काठमाण्डौ ।
न्यू बुटवल–न्यू दमौली ४०० केभी दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको ‘एमसीसी नेपाल कम्प्याक्ट’को अनुदानमा यो प्रसारण लाइन निर्माण सुरु भएको हो ।
कार्यान्वयन निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले यही मंसिर ४ गते तनहुँ र पाल्पा जिल्लाबाट एकैसाथ निर्माण कार्यको थालनी गरेको हो । लामो समयको पूर्वतयारी, जग्गा अधिग्रहण, रूख कटान तथा ठेक्का प्रक्रियाको टुङ्गो लागेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको एमसीसी विद्युत् प्रसारण आयोजनाको मुख्य भौतिक निर्माणले गति लिएको छ।

एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत देशका विभिन्न १० जिल्ला हुँदै कुल ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । जसमध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित न्यू बुटवल सबस्टेशनदेखि तनहुँस्थित न्यू दमौली सबस्टेशनसम्मको खण्ड ९० किलोमिटर लामो रहेको छ।
एमसिए–नेपालका अनुसार यस ९० किलोमिटर खण्डको निर्माणका क्रममा तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चारवटा जिल्लामा कुल २५० वटा उच्च क्षमताका प्रसारण टावरहरू निर्माण गरिनेछन्।
यो खण्डको निर्माण सम्पन्न भएसँगै मस्र्याङ्दी र कालीगण्डकी करिडोरमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न तथा दक्षिणतर्फ पठाउन सहज हुनेछ। नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच २०७४ साल भदौ २९ गते ‘एमसीसी नेपाल कम्प्याक्ट’ सम्झौतामा हस्ताक्षर भएको थियो ।
सुरुवाती सम्झौतामा अमेरिकी सरकारको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १३ करोड डलर लगानी रहने तय भएको थियो। पछि परियोजनाको लागत समायोजन गर्दै अमेरिकी पक्षले थप ५ करोड डलर र नेपाल सरकारले ६ करोड ७० लाख डलर थपेपछि कुल परियोजना लागत करिब ६९ करोड ७० लाख अमेरिकी डलर (करिब ९२ अर्ब रुपैयाँ) पुगेको छ।
नेपालमा लामो राजनीतिक बहस र विवादपछि प्रतिनिधिसभाले २०७८ साल फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो। त्यसको करिब डेढ वर्षपछि अर्थात् २०८० साल भदौ १३ गतेदेखि परियोजना औपचारिक रूपमा कार्यान्वयन चरण (इन्ट्री इन्टु फोर्स–इआइएफ)मा प्रवेश गरेको हो।
एमसीसीको नियमअनुसार परियोजना कार्यान्वयनमा गएको ठिक ५ वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक समयसीमा रहेको छ । एमसीसीअन्तर्गत मुख्यतः दुईवटा परियोजना सञ्चालनमा छन् । एउटा विद्युत् प्रसारण आयोजना र अर्को सडक मर्मत आयोजना ।
विद्युत् प्रसारणतर्फ ३१५ किलोमिटर प्रसारण लाइनका अतिरिक्त नुवाकोटको रातमाटे, तनहुँको न्यू दमौली र नवलपरासीको न्यू बुटवलमा गरी तीनवटा ४०० केभी क्षमताका सबस्टेशन निर्माण भइरहेका छन्। यस्तै, सडक मर्मततर्फ पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही खण्डको स्तरोन्नति गर्ने योजना छ ।
अहिले निर्माण सुरु भएको न्यू बुटवल–न्यू दमौली खण्ड नेपालको आन्तरिक ऊर्जा सुरक्षा र क्षेत्रीय विद्युत् व्यापारका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो प्रसारण लाइनले देशभित्रका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई भरपर्दो रूपमा राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नेछ ।
यसका साथै नवलपरासीस्थित न्यू बुटवल सबस्टेशनलाई भारतको गोरखपुरसम्म जोड्ने अन्तरदेशीय ४०० केभी प्रसारण लाइनसँग आबद्ध गरिने भएकाले बर्खायाममा नेपालमा खपत भएर बढी हुने बिजुली भारत तथा तेस्रो मुलुक (बङ्गलादेश)सम्म निर्यात गर्न यो पूर्वाधारले प्रमुख राजमार्गको काम गर्ने अपेक्षा गरिएको छ ।



