८ मंसिर , काठमाण्डौ ।प्रधानमन्त्री बालेन आफ्नो २ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भ्रमणका उपलब्धिहरु सार्वजनिक भइसकेका छन् । जहाँ सबैभन्दा बढी चासो र चर्चा भारत सँगको सीमा विवाद र ल्ुटिएका नेपाली भूमि फिर्ता बारे के भयो भन्ने रहेको छ । तर दुई देशबीचको सीमा विवाद सुःभलाउनका लागि महिनौं लगाएर तयार पारिएको दुई देशका प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनको औचित्य सकिएको दाबी गरिएको छ। यसका बारेका नेपाल र भारतबाट फरक धारणा सार्वजनिक भएका छन् । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। मिस्रीले नेपाल–भारत सीमाबारे प्रबुद्ध व्यक्तिहरूको संयुक्त संयन्त्रले तयार गरेको प्रतिवेदन विगत रहेको टिप्पणी गर्दै भारत त्यतातर्फ नजाने बताएका छन् ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘म भन्न चाहन्छु, त्यो विगतको विषय हो। हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ। हामी पछाडि फर्केर हेरिरहेका छैनौँ। त्यसैले त्यो प्रतिवेदन अहिलेको सन्दर्भमा सान्दर्भिक छैन, किनकि त्यो पुरानो विषय हो।’ ’’ईपीजी विगतको कुरा हो । भारत विगततर्फ फर्किँदैन। भविष्यका लागि नयाँ समझदारी भइसक्यो । सीमाका विषयमा छलफलका लागि दुवैतर्फका विदेश सचिवहरूलाई स्पष्ट निर्देशन आइसकेको छ । भारत र नेपाल सरकारले रचनात्मक र विस्तृत संयुक्त दृष्टि दस्ताबेज अघि सारेको छ । अब हामी भविष्यका लागि काम गर्छौँ । विगततर्फ फर्किँदैनौँ,’’ उनले भने । अहिले दुवै देश भविष्यतर्फ केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राख्दै अब पुराना विषय सान्दर्भिक नहुने मिस्रीको भनाई छ।नेपाल–भारत सीमा सम्बन्धी विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवलाई दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। दुई देशका सीमा व्यवस्थापनका विषयमा विभिन्न तहका संयन्त्र क्रियाशील रहेको भन्दै मिस्रीले ती संयन्त्रमार्फत प्राप्त सुझावका आधारमा परराष्ट्र सचिवहरूले थप काम गर्ने बताए। मिस्रीले भने, ‘दुई देशबीच सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयलाई सम्बोधन गर्न बहुस्तरीय संरचना छ। सबैभन्दा तल्लो तहमा प्राविधिक टोलीहरू छन्, जसले वरिष्ठ अधिकारीहरूको समितिमा प्रतिवेदन पेस गर्छन्। यसका साथै सीमा कार्यदल पनि क्रियाशील छ।’ भारत र नेपालका प्रबुद्ध व्यक्तिहरू सम्मिलित संयुक्त संयन्त्रले २०७५ मा सीमा विवादसँगै १९५० को सन्धि पुनरावलोकनबारे प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन भारत सरकारले हालसम्म बुझेको छैन । यसै विषयमा भारतीय सञ्चारकर्मीहरूले जिज्ञासा राख्दा मिस्रीले त्यसको सान्दर्भिकता अब नरहेको र भारत विगततर्फ नफर्किने बताएका हुन् ।
उनले पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमा व्यवस्थापनका प्राविधिक काममा उल्लेखनीय प्रगति भएको मिस्रीले दाबी गरे। ‘पछिल्ला वर्षहरूमा प्राविधिक तहमा धेरै काम भएका छन्। दुई देशबीच सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार गर्ने र अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धान गर्नेलगायतका काम भइरहेका छन्’, मिस्रीले भने। नेपाल र भारतका प्रधानमन्त्रीहरुले स्वीकृत गरेको संयुक्त दृष्टिकोणपत्रमा समेत यी विषय प्रतिबिम्बित भएको मिस्रीको भनाई छ। ‘निकट भविष्यमा सीमा सम्बन्धी विषय हेर्ने विद्यमान संयन्त्रको बैठक पनि बस्ने मेरो अपेक्षा छ’, उनले भने। हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरेको छलफलको मर्म र संयुक्त दृष्टिकोणपत्रको भावना अनुसार आगामी दिनमा दुवै देश भविष्य केन्द्रित भएर अघि बढ्ने मिस्रीले बताए। ‘हामीले अगाडि हेर्नुपर्छ, भविष्यतर्फ केन्द्रित हुनुपर्छ। आज दुवै देशका नेताहरूले घोषणा गर्नुभएको संयुक्त दृष्टिकोणपत्रको दूरदर्शी सोचअनुसार नै अघि बढ्नुपर्छ’, मिस्रीले भने। त्यसबाहेक, गोर्खा भर्ति केन्द्रको विषयमा भने वालेन्द्र शाहको भारत भ्रमणको विषयमा छलफल नभएको मिस्रीले बताएका छन्।

यता परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दुवै मुलुकका प्रधामन्त्रीले सार्वजनिक गरेको संयुक्त दृष्ट दस्ताबेजमा ईपीजीका केही विषय पनि सम्बोधन भएको बताएका थिए । ’’भिजन डकुमेन्टमा ईपीजीका केही विषय अटाएका छन् । भारत असमान सन्धि पुनरावलोकनका लागि तयार भएको छ,’’ उनले भनेका छन् । मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकको सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काएको बताएका छन् । खनालले सीमा विवाद तथा पुनरावलोकन गर्नुपर्ने सन्धिसहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल र भारतका प्रधानमन्त्रीले दुरदृष्टि दस्ताबेज सार्वजनिक गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ’’दुई मुलुकका प्रधानमन्त्रीबाट अघि सारिएको भिजन डकुमेन्टले १९५० को सन्धि लगायत सिमानाका विषयलाई पनि सम्बोधन गर्ने ढंगले आएको छ । ईपीजीका विषय सम्बोधन गर्ने ढंगले उक्त डकुमेन्ट आएको छ । नेपालसँगका असमान सन्धि पुनरावलोकनका लागि भारत तयार भएको छ,’’ उनले भने । नेपाल भारत सीमा विवाद तथा १९५० को सन्धि पुनरावलोकनका लागि दुवै पक्षका प्रवुद्ध व्यक्तिहरूको सहभागितामा गठित संयन्त्रले २०७५ सालमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन भारत सरकारले हालसम्म बुझेको छैन । परराष्ट्रमन्त्री खनालले उक्त संयन्त्रले उठाएका विषय पनि सम्बोधन हुनेगरी दुवै राष्ट्रका प्रधानमन्त्रीले भिजन डकुमेन्ट अघि सारेको जिकिर गरेका हुन् ।
अहिलेको भ्रमणमा उच्च तहमा सीमा विवादबारे कुनै कुरा नभएको मन्त्री खनालले बताए । ’’दुवै मुलुकका प्रधानमन्त्रीले सीमा विवादबारे आ–आफ्ना विदेशसचिवलाई संयुक्त बैठक राख्न निर्देशन दिनुभएको छ । यो भ्रमणमा सीमाबारे उच्च तहमा भने छलफल भएन । यसबारे उपयुक्त ठाउँमा धारणा राख्ने र त्यसको लागि बैठक गर्ने सहमति भएको छ,’’ मन्त्री खनालले भने । मन्त्री खनालले भारतसँग बागडोरा हवाई रुटबारे कुनै सहमति नभएको प्रस्ट पारे । ’’भारतले सैन्य प्रयोजनका लागि होइन नागरिक प्रयोजनकै लागि बागडोरा हवाई रुटका लागि अनुमति मागेको थियो । त्यसमा सरकारले कुनै सहमति दिएको छैन । भैरहवाको हवाई रुटबारे मात्रै हाल सहमति भएको छ,’’ उनले भने । प्रधानमन्त्री शाहको यस भ्रमणले भारतसँगको सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काएको दाबी मन्त्री खनालको छ ।
नेपाल र भारतबिच लामो समयदेखि रहँदै आएको सीमा विवादका विषयमा दुवै देशका प्रधानमन्त्रीबिच छलफल भएको सार्वजनिक वक्तब्यमा उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमासम्बन्धी बाँकी विषयमा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको प्रेस नोटमा यसबारे जानकारी दिइएको हो। परराष्ट्रमन्त्री खनालले जारी गरेको प्रेस नोटअनुसार नेपाल र भारतको सीमामा संयुक्त रूपमा स्थलगत निरीक्षण गर्ने तथा सीमा स्तम्भको मर्मतसम्भार गर्ने काममा भएको प्रगतिबारे दुवै प्रधानमन्त्रीले छलफल गरेका थिए। त्यसपछि उनीहरूले सीमासम्बन्धी बाँकी विषयमा काम अघि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिएका हुन्। नेपाल र भारतबिच सीमा विवाद लामो समयदेखि कायम छ।
विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्रमा दुई देशबिच विवाद रहँदै आएको छ। तर, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा यी क्षेत्रको नाम लिएर छुट्टै छलफल भएको उल्लेख छैन। दुवै देशका प्रधानमन्त्रीले सीमा स्तम्भको मर्मतसम्भार र संयुक्त स्थलगत निरीक्षणको काममा भएको प्रगतिलाई उल्लेख गरेका छन्। सीमासम्बन्धी बाँकी विषयमा परराष्ट्र सचिवहरूले काम अघि बढाउने भनिए पनि विवाद समाधानका लागि कुनै निश्चित समयसीमा वा ठोस सहमति सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिको १५औँ बुँदामा पनि सीमा सम्बन्धी विषय उल्लेख छ।
उक्त बुँदामा दुवै देशका प्रधानमन्त्रीले सीमासम्बन्धी बाँकी विषयमा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ। यसअघि पनि सीमा विवाद समाधानका लागि विभिन्न कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको थियो। तर, सबै विषय टुंगिन सकेका छैनन्। पछिल्लो भ्रमणमा प्रधानमन्त्री तहबाटै परराष्ट्र सचिवहरूलाई निर्देशन दिइनुले सीमा विवादका बाँकी विषयमा थप छलफल अघि बढाउने बाटो खोलेको छ।नेपाल–भारत सम्बन्धका पुराना सन्धि, सीमा व्यवस्थापन र द्विपक्षीय सहकार्यका विषय पुनरावलोकन गर्न गठन गरिएको विज्ञ समूहको प्रतिवेदनलाई प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) प्रतिवेदन भनिन्छ । नेपाल र भारतका प्रधानमन्त्रीबीच सन् २०१४ मा भएको सहमतिअनुसार सन् २०१६ मा ईपीजी गठन गरिएको थियो । समूहमा नेपालका चार र भारतका चार गरी आठ जना विज्ञ सदस्य थिए । यसको संयोजक नेपालका तर्फबाट भेखबहादुर थापा र भारतका तर्फबाट भगतसिंह कोश्यारी थिए ।
समूहलाई दुई देशबीचका समग्र सम्बन्ध, सन्धि–सम्झौता र सहकार्यका क्षेत्र अध्ययन गरी सुधारका सुझाव दिन जिम्मेवारी दिइएको थियो । समूहले विशेषगरी सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, सीमा व्यवस्थापन, व्यापार, जलस्रोत, सुरक्षा तथा जनस्तरको सम्बन्धलगायत विषयमा अध्ययन गरेको थियो । नौ पटक बैठक बसेपछि सन् २०१८ जुलाईमा प्रतिवेदन तयार भएको थियो । सहमतिअनुसार प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने तय भएको थियो । तर प्रतिवेदनका केही सुझावप्रति भारतीय पक्ष असन्तुष्ट थियो । विशेषगरी खुला सीमाको व्यवस्थापन, सीमा पार गर्दा परिचयपत्रको व्यवस्था तथा ‘स्मार्ट बोर्डर म्यानेजमेन्ट’ सम्बन्धी सुझावमा भारतीय कर्मचारीतन्त्र र सुरक्षा निकायको चासो रहेको बताइएको थियो । नेपालले पटक–पटक प्रतिवेदन बुझ्न र कार्यान्वयनको प्रक्रिया अघि बढाउन आग्रह गरे पनि भारतले औपचारिक रूपमा ग्रहण गरेको छैन । तर अब भारतीय विदेश सचिव मिस्रीले यसलाई विगतको विषय भन्दै असान्दार्भिक रहेको टिप्पणी गरेका छन् ।



