अमेरिकी आकाश पनि असुरक्षित, १० महिनामा ५२५ जनाको मृत्यु

९ मंसिर २०८३, बुधबार
Share this
704shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

अमेरिकाको आकाशमा पछिल्लो समय एकपछि अर्को विमान दुर्घटना भएका छन् । निजी विमानदेखि व्यावसायिक उडान, हेलिकोप्टरदेखि कार्गो विमानसम्म दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको छ । मिसिसिपीको हर्न आइल्यान्ड नजिकै समुद्रमा भएको पछिल्लो विमान दुर्घटनामा ६ जनाको मृत्यु भएपछि फेरि अमेरिकी हवाई सुरक्षामाथि प्रश्न उठेको छ ।

अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको शव फेला परेको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

Advertisement

मंगलबार साँझ खोजीका क्रममा मिसिसिपी समुद्री स्रोत विभाग (एमडीएमआर) का गोताखोरहरूले विमानको मुख्य भागभित्रै सबै ६ जनाको शव फेला पारेपछि उद्धार तथा खोजी कार्य समाप्त गरिएको कोस्ट गार्डले जनाएको छ । दुर्घटनामा सेस्ना सेन्टुरियन २१० विमान परेको थियो ।

विमान मंगलबार दिउँसो हर्न आइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा समुद्रमा खसेको थियो । अमेरिकी कोस्ट गार्डका अनुसार विमानसँग सम्पर्क टुटेको जानकारी मंगलबार दिउँसो करिब ३ः४५ बजे प्राप्त भएको थियो । संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सञ्चार सम्पर्क गुमाएपछि दुर्घटनाबारे कोस्ट गार्डलाई खबर गरेको थियो ।

उद्धार टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ ¥याफ्ट र विमानको केबिन फेला पारेको थियो । पछि गोताखोरहरूले विमानको फ्युजलेजभित्रै सबै यात्रुको शव फेला पारेका हुन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का विवरणअनुसार उक्त विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडिरहेको थियो ।

उडेको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा रहेका बेला विमान अचानक तीव्र गतिमा तल झर्न थालेको देखिएको थियो । ट्र्याकिङ विवरणअनुसार दुर्घटनाअघि विमान प्रतिमिनेट करिब १८ हजार फिटको गतिमा तल झरिरहेको थियो ।

यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हुन आउँछ । त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो । यद्यपि विमान अचानक किन खस्यो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले नेतृत्व गर्नेछ ।

एफएएले पनि अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । घटनास्थलमा अमेरिकी कोस्ट गार्ड, मिसिसिपी समुद्री स्रोत विभाग र स्थानीय निकायका टोली परिचालित भएका थिए । विमान दुर्घटनाको कारण पत्ता लगाउन प्राविधिक पक्ष, उडान विवरण र अन्य प्रमाणहरूको विश्लेषण गरिनेछ ।

हर्न आइल्यान्ड मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा रहेको निर्जन टापु हो । त्यहाँ निजी डुङ्गाबाट मात्रै पुग्न सकिन्छ । बिलोक्सी, ओसन स्प्रिङ्स वा पास्कागुलाबाट डुङ्गामा यात्रा गर्दा करिब ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ ।

करिब १० माइल लामो र एक माइल चौडा यो टापु गल्फ आइल्यान्ड्स नेसनल सिसोरअन्तर्गत पर्दछ । उक्त राष्ट्रिय संरक्षित क्षेत्र मिसिसिपीदेखि फ्लोरिडासम्म फैलिएका दर्जनौँ टापु समेटिएको छ । हर्न आइल्यान्ड गर्मी मौसममा स्थानीय पर्यटकका लागि लोकप्रिय गन्तव्यसमेत हो ।

तर, यसपटक त्यही टापुको उत्तरपूर्वी समुद्री क्षेत्रमा भएको विमान दुर्घटनाले ६ जनाको ज्यान लिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । आजको यो घटनापछि अमेरिकी नागरिक उड्डयनको सुरक्षामाथि प्रश्न उठेको छ। अमेरिकामा पछिल्लो ६ महिनामा भएका विमान दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् ।

यसमा सबैभन्दा बढी साना विमानहरु दुर्घटनामा परेका छन् । जुन १४, बटलर (मिसोरी)मा स्काइडाइभरले भरिएको सानो विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो भएको थियो । यस्तै जुन १५, एडवड्र्स वायुसेना अड्डा (क्यालिफोर्निया)मा बी–५२ बमवर्षक उडानका क्रममा दुर्घटना हुँदा सवार सबै आठ जनाको मृत्यु भयो। यो सैन्य घटना थियो ।

जुन १६, लारेडो (टेक्सास)मा व्यापारिक जेट दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र पाँच प्रहरी अस्पताल भर्ना भएका थिए । सेप्टेम्बर ६, मायामीमा अमेजन प्राइम एयरको कार्गो विमान अवतरणपछि रनवेबाट बाहिर निस्कँदा कम्तीमा पाँच जनाको मृत्यु भयो। यस्तै सेप्टेम्बर १५, चाट्सवर्थ (लस एन्जलस)मा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

नोभेम्बर १, पाम बिच काउन्टी (फ्लोरिडा)मा लियरजेट ६० दुर्घटना हुँदा विमानमा रहेका नौ जना सबैको मृत्यु भएको थियो । यी घटनामा कुल ४४ जनाले ज्यान गुमाएका छन्। न्युजवीकले एनटीएसबी तथ्याङ्कको हवाला दिँदै जनवरी १ देखि अक्टोबर २९, २०२६ सम्म अमेरिकामा ६०९ विमान दुर्घटना भएको उल्लेख गरेको छ।

यी मध्ये धेरैजसो साना निजी विमान, स्काइडाइभिङ र कार्गो उडान हुन्। यूपीएस फ्लाइट २९७६ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो, र एनटीएसबीले मे २०२६ मा बोइङले निरीक्षण अवधि बढाउन माग गरेको खुलासा गरेको थियो। यसले नियमन र निगरानीमाथि प्रश्न उठाएको छ।

अर्काेतर्फ एनटीएसबीको तथ्यांकमा आधारित सार्वजनिक अभिलेखअनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबर २८ सम्म अमेरिकामा १ हजार ३४७ वटा नागरिक उड्डयन दुर्घटना तथा घटनाका अभिलेखमध्ये २३६ वटा दुर्घटना घातक रहेका छन् । ती घातक दुर्घटनामा ५२५ जनाको मृत्यु भएको छ ।

सन् २०२५ को सोही अवधिमा २३० वटा घातक दुर्घटना र ५०८ जनाको मृत्यु अभिलेख गरिएको थियो । अर्थात् सन् २०२६ को पहिलो १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घातक दुर्घटना र मृत्यु दुवै बढेको देखिन्छ ।

लगातार सार्वजनिक भइरहेका दुर्घटनाका खबर र मानवीय क्षतिले अमेरिकी उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन् । तर केही ठूला दुर्घटनालाई आधार बनाएर समग्र अमेरिकी हवाई क्षेत्र असुरक्षित भएको निष्कर्ष निकाल्न नमिल्ने अधिकारीहरु बताउँछन् ।

अमेरिकामा दैनिक हजारौँ उडान सञ्चालन हुन्छन् । त्यसैले दुर्घटनाको वास्तविक जोखिम मापन गर्न कुल उडान संख्या, यात्रुको संख्या, विमानको प्रकार र दुर्घटना दरलाई समेत तुलना गर्न आवश्यक हुने विज्ञहरुको तर्क छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top