११ मंसिर, काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा छापा हानेको छ । मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित निवासमा बिहीबार छापा हानेको हो ।
उनलाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले सार्वजनिक गरेको थियो । श्रमिकहरुको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया कैलाश खड्काको माइक्रोटेक प्रालिले गर्दै आएको थियो । सीआईबीको अनुसन्धानका क्रममा कैलाश खड्काको सेटिङमा नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कात्तिकमा भएको सम्झौता विपरीत रकम असुली गरिएको पाइएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपालबाट मलेसिया जाने श्रमिकहरूलाई शून्य लागतमा पठाउने उल्लेख छ । सरकारले तोकेको ६ हजार ५०० रुपैयाँ बराबरको बायोमेट्रिक बापत तिर्नुपर्ने रकमसमेत मलेसिया पुगेपछि रोजगारदाता कम्पनीले पहिलो महिनामा फिर्ता गर्ने उल्लेख छ । सरकारले तोकेको उक्त रकमबाहेक २०२६ मे १८ देखि थप १०० रिङगेट समेत असुली गरेको खुलेको छ । सम्झौताअनुसार भने मलेसियन श्रमिकले उक्त रकम तिर्ने तर अन्य मूलुकबाट मलेसिया आउनेहरुको हकमा यो लागु नहुने उल्लेख छ । उनीहरुले यो धन्दा नेपाल सरकार र मलेसियाको सरकारभन्दा पनि कैलाश खड्कको माइक्रोटेक प्रालि र मलेसियास्थित बेष्टिनेट कम्पनीसित सझौता गरेर रकम असुली गरेको खुलेको छ । नेपाली श्रमिकबाट संकलन गरिएको रकमसमेत बेष्टिनेट कम्पनीलाई रकम पठाएको खुलेको हो ।यो प्रक्रियामा नेपालस्थित मलेसियन दूतावासको भूमिकामाथि समेत प्रहरीले शंका व्यक्त गरेको छ । मलेसिया सरकारसित गरेको सम्झौता विपरीत दूतावासबाटसमेत कैलाश खड्कालाई चाहेजस्तो पत्र बनाएर मन्त्रालयमा पेश गरेको देखिएको छ । सीआईबीको अनुसन्धानको क्रममा यो धन्दा २०७० देखिनै सूरु भएको र पछि २०७५ मा दुई देशबीचको सम्झौता हुँदा पनि नरोकिएको देखिएको हो ।पूर्वमुख्यसचिव एकनारायण अर्याल अहिले प्रहरीको थुनामा छन्। बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका अर्याललाई जहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थलबाट जहाजमा अर्याललाई बिहीबार अपरान्ह काठमाडौं ल्याइएको छ। यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सिमाक्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ। आज म्याद थपका लागि अर्याललाई जिल्ला अदालत काठमाडौंमा उपस्थिति गराइने छ।
२७ महिना श्रम सचिव रहेका अर्यालका लागि मुख्यसचिवसम्मको ३५ वर्ष लामो सेवा अवधि खराब समय बन्न पुगेको छ। २०४६ माघ ४ गते निजामती सेवामा नासूको रुपमा प्रवेश गरेका अर्याल ३५ वर्षमा मुख्य सचिव भए। उनले कृष्णकुमार श्रेष्ठदेखि, शेरबहादुर कुँवर, डोल प्रसाद अर्याल र शरतसिंह भण्डारीसम्मका मन्त्रीसँग श्रम सचिवको भूमिकामा काम गरेका थिए । मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम संकलन गर्ने र त्यसरी उठाइएको रकम मलेसिया लैजाने गरकोे आरोपमा यसका मुख्य योजनाकार रामेछापका कैलाश खड्कासहित ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २९ असोजमा पक्राउ गरेको थियो ।उनीहरुमाथि थप अनुसन्धान गर्दा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवरदेखि तत्कालीन श्रम सचिव विनोद केसी, एकनारायण अर्यालयको भूमिका समेत देखिएको थियो । मन्त्रीद्वय यादव र कुँवरको पालामा मन्त्रीस्तरीय निर्णय गरेर रकम मलेसिया लगिएको पाइएपछि सीआईबीले यससँग सम्बन्धीत केही कागजात श्रम मन्त्रालयसँग माग गरेको थियो ।

कागजात माग गरेको सुईंको पाएपछि तत्कालीन श्रम सचिव तथा पूर्वमुख्य सचिव एकनारायण अर्यालय भने एकाएक सम्पर्कविहीन भएका थिए ।२०७८ असोज २२ देखि २०७९ असार १३ सम्म श्रममन्त्री रहेका किसान श्रेष्ठको रोजाइमा परेका अर्यालले त्यो बीचमा पैसा विदेश पठाएको सीआईबीको प्रारम्भिक अनुसन्धानमा देखिएको छैन। २०७९ असार १३ देखि ०७९ पुस १० सम्म शेरबहादुर कुँवर श्रममन्त्री हुँदा पनि अर्याल सचिव थिए। सो समयमा चार पटक मलेसिया जाने श्रमिकमाथि भएको ठगीबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय भयो। जसमा २०७९ भदौ १४ मा १ लाख ३५ हजार ३७५ अमेरिकी डलर पठाइएको छ। २०७९ असोज ११ मा ६ लाख ६६ हजार ६३६ अमरिकी डलरमा बाहिर पठाइएको छ। २०७९ कात्तिक २४ मा ७ लाख ३५ हजार ८०३ अमेरिकी डलर बाहिर पठाइएको भेटिएको छ भने सोही सालको मंसिर १९ मा ७ लाख ८० हजार ९सय ८९ जीबीपी पठाइएको छ। उक्त समयमा श्रम मन्त्रालयको नेतृत्व शेरबहादुर कुँवरले गरेका थिए।
यस्तै, २०७९ पुस ११ मा १७ लाख ४९ हजार ३०९ जीबीपीमा पैसा मलेसिया पठाइएको छ। २०७९ माघ ५ मा ९ लाख २५७ अमेरिकी डलर मलेसिया पठाइएको भेटिएको छ। उक्त अवधि हालका सभामुख डीपी अर्याल पहिलो पटक श्रममन्त्री बन्दाको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्यालले २०७९ माघ ३ मा अर्यालले श्रम मन्त्रालयको कार्यभार सम्हालेका थिए। २०७९ फागुन १५ मा १७ लाख १५ सय ८२ अमेरिकी डलर मलेसिया पठाइएको छ। उक्त समय श्रममन्त्रालयको नेतृत्व तत्कालीन प्रधानमन्त्री प्रचण्डले सम्हालेका थिए। श्रममन्त्रालयको सचिवको जिम्मेवारीमा अर्याल थिए। अर्याल सचिव हुँदा सात पटक पैसा विदेश पठाउने काम भएको सीआईबीको अनुसन्धानले देखाउँछ। २०७६ देखि २०८१ सम्म गैरकानुनी रूपमा उठाइएको रकम मलेसिया पठाउन चारवटा नीतिगत निर्णय भएको सीआईबी स्रोतले जनाएको छ। सीआईबी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकमार्फत १७ पटक रकम मलेसिया पठाइएको अनुसन्धानमा देखिएको छ।
मलेसिया जाने श्रमिकमाथि भएको ठगीबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि प्रहरी हिरासमा छन्। सोही दिन एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो। प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि उनी मंसिर २ को बिहानै दिल्ली उडेको खुलेको थिए।सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा मंसिर २ मा पक्राउ परेका उनीहरूमाथि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनीहरू पक्राउ गरेको ८ दिनपछि अर्याललाई दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। २०७२ असारमा ६ महिनाका लागि परीक्षण परियोजनाका रूपमा उक्त प्रणाली सञ्चालन गर्न अनुमति पाएपछि दुई लाख २२ हजारभन्दा बढी श्रमिकबाट करिब एक अर्ब रुपैयाँ संकलन गरिएको भेटिएको छ।
उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको सीआईबीले जनाएको छ। उक्त प्रकरणमा गत असोज २९ मा प्रहरीले म्याक्रोटेक कम्पनीका सञ्चालक कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा पूर्वमन्त्री र मुख्यसचिवसम्मलाई हिरासतसम्म पु¥याएको छ।मलेसियामा कामदार ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं अदालतले थुना अनुमति दिएको छ ।
अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बिहीबार थुना अनुमति दिएको हो । यसअघि उनीहरूलाई दुई दिन थुना अनुमति दिइएको थियो । अनुसन्धानको थुना म्याद सकिएपछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने अवस्था रहेको भन्दै पुनः म्याद थपका लागि माग गरेको थियो । यस्तै, बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धानका लागि अदालतले अनुमति दिएको छ । सापकोटासँगै व्यवसायी महेश श्रेष्ठ र सुशील भट्टलाई पनि थप पाँच दिन थुना म्याद थप भएको छ । इनम सापकोटासँग ‘कनेक्सन’ देखिएको आरोपमा श्रेष्ठ र भट्ट पक्राउ परेका थिए । उनीहरूमाथि बैकिङ कसुर र सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान भइरहेको छ । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् । यस्तै, भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।





