ट्रम्पले पुटिनलाई मित्र भनेपछि जेलेन्स्की रिसाए,भने, पुटिन हत्यारा हुन्

११ मंसिर २०८३, शुक्रबार
Share this
749shares

११ मंसिर , काठमाण्डौ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो मित्रका रूपमा प्रस्तुत गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन् । रुसले आफ्नो देशमाथि निरन्तर आक्रमण गरिरहेको अवस्थामा पुटिनलाई मित्र भन्नु अस्वाभाविक भएको उनको टिप्पणी छ। उनले पुटिनलाई आक्रमणकारी र हत्याराको संज्ञा दिँदै यस्तो व्यक्तिसँग मित्रता हुन नसक्ने स्पष्ट पारेका छन् । मध्य किएभस्थित आफ्नो कार्यालयमा बीबीसीसँग कुराकानी गर्दै जेलेन्स्कीले ट्रम्पको व्यक्तिगत धारणा र निर्णय गर्ने अधिकार अमेरिकाको राष्ट्रपतिमा रहेको स्वीकार गरे पनि पुटिनप्रतिको उनको व्यवहार आफूलाई अनौठो लागेको बताए ।

Advertisement

ट्रम्प र पुटिनबीच देखिएको निकटताले युक्रेनको वर्तमान अवस्थालाई थप असहज बनाएको उनको भनाइ छ।‘उनी आक्रमणकारी हुन् र हत्यारा हुन्। यस्तो व्यक्ति कसैको मित्र हुन सक्दैन,’ जेलेन्स्कीले भने। उनले पुटिनसँगको सम्बन्धलाई दोस्रो विश्वयुद्धका बेला नाजी नेता एडोल्फ हिटलरसँग मित्रता कायम गरेजस्तै व्यवहारका रूपमा समेत तुलना गरेका छन्।चिनियाँ राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति पुटिनसँगको उच्चस्तरीय भेटवार्तापछि ट्रम्पले पुटिनप्रति सकारात्मक धारणा सार्वजनिक गरेका थिए। उनले आफू र पुटिनबीच धेरै वर्षदेखि उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै रुसी राष्ट्रपतिसँगको व्यक्तिगत सम्बन्धलाई पनि महत्त्व दिएका थिए। यही अभिव्यक्तिले युक्रेनी नेतृत्वलाई थप असन्तुष्ट बनाएको देखिन्छ। ट्रम्पले आगामी महिना अमेरिकाको फ्लोरिडामा आयोजना हुने जी–२० सम्मेलनमा पुटिन सहभागी भएको हेर्न चाहेको अभिव्यक्तिसमेत दिएका छन्। यद्यपि पुटिन उक्त सम्मेलनमा सहभागी हुने विषय निश्चित भइसकेको छैन। जेलेन्स्कीले ट्रम्पको पुटिनप्रतिको व्यवहारमा मात्र प्रश्न उठाएका छैनन्, युक्रेनलाई आवश्यक सैन्य सहयोग उपलब्ध गराउने विषयमा अमेरिकाले पर्याप्त प्राथमिकता नदिएको भन्दै गम्भीर असन्तुष्टिसमेत व्यक्त गरेका छन्।उनका अनुसार रुसको निरन्तर आक्रमणबाट युक्रेनी नागरिक र सैन्य संरचनामा क्षति भइरहेका बेला अमेरिकाबाट प्राप्त हुनुपर्ने महत्त्वपूर्ण हतियार तथा प्रतिरक्षा प्रणालीको आपूर्तिमा ढिलाइ भएको छ। विशेषगरी ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै निष्क्रिय पार्न प्रयोग गरिने इन्टरसेप्टर र प्याट्रियट वायु रक्षा प्रणालीको अभावले जनधनको सुरक्षामा प्रत्यक्ष असर पारेको उनले बताएका छन्।युक्रेनलाई आवश्यक सैन्य उपकरण समयमै उपलब्ध हुन नसक्दा सर्वसाधारणको ज्यान जोखिममा परेको जेलेन्स्कीको भनाइ छ। उनका अनुसार क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको अभाव सामान्य सैन्य समस्या नभई नागरिकको जीवन रक्षासँग जोडिएको विषय हो। उनले पछिल्लो समय अमेरिका मध्यपूर्वका घटनाक्रममा बढी केन्द्रित भएको र त्यहाँ सैन्य सहयोगलाई प्राथमिकता दिएको भन्दै दुःख व्यक्त गरेका छन्।

युक्रेनले पनि निरन्तर युद्धको सामना गरिरहेको अवस्थामा आफ्नो सुरक्षाका लागि आवश्यक सहयोग अपेक्षित रूपमा प्राप्त हुन नसकेको उनको गुनासो छ। ‘अमेरिकाले मध्यपूर्वमा बढी ध्यान दिएको र त्यहाँ धेरै सहयोग गरेको देख्दा दुःख लागेको छ। यस विषयमा हामीसँग गम्भीर प्रश्नहरू छन्,’ जेलेन्स्कीले भनेका छन्। उनले अमेरिकाको स्याटेलाइट सञ्चार प्रणाली स्टारलिङ्क र त्यसको सैन्य संस्करण स्टारशील्डको प्रयोगसमेत युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्रमा अझै सीमित रहेको बताएका छन्। आधुनिक युद्धमा सञ्चार प्रणाली र सूचनाको पहुँच अत्यन्त महत्त्वपूर्ण हुने भएकाले यस क्षेत्रमा पनि थप सहयोग आवश्यक रहेको युक्रेनको अपेक्षा देखिन्छ।रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको कूटनीतिक प्रयासप्रति पनि जेलेन्स्की सन्तुष्ट छैनन्। अमेरिकाले शान्ति वार्तालाई अघि बढाउन भूमिका खेले पनि रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको उनको आरोप छ।

Advertisement

ट्रम्प प्रशासनका दुई जना विशेष दूतले रुस र युक्रेनबीच शान्ति सम्झौता गराउने प्रयास गरिरहेका छन्। तर उनीहरूको वार्ता शैली र प्रस्तुत धारणाले धेरै अवस्थामा युक्रेनको भन्दा रुसको अडानलाई प्राथमिकता दिएको अनुभूति आफूहरूलाई भएको जेलेन्स्कीले बताएका छन्। यसै महिनाको सुरुवातमा संयुक्त अरब इमिरेट्सको आबुधाबीमा भएको मध्यस्थतासहितको वार्ताबाट पनि उल्लेखनीय उपलब्धि हासिल हुन सकेन। वार्तामा विभिन्न विषयमा छलफल भए पनि युद्ध अन्त्य गर्ने सहमतितर्फ ठोस प्रगति नभएको उनको भनाइ छ। ‘जति धेरै कुरा थाहा हुँदै जान्छ, त्यति नै धेरै समस्या देखिन थाल्छन्,’ जेलेन्स्कीले वार्ताको अवस्थाबारे टिप्पणी गर्दै भनेका छन्। उनका अनुसार रुस र युक्रेनबीचको वार्ता डिसेम्बरमा पुनः सुरु हुने अपेक्षा गरिएको छ। तर त्यसमा युरोपेली देशहरूको सहभागिता कसरी सुनिश्चित गरिने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

युक्रेनका लागि युरोपेली राष्ट्रहरूको भूमिका महत्त्वपूर्ण हुने भए पनि आगामी वार्तामा उनीहरूलाई कुन स्तरमा सहभागी गराइन्छ भन्नेबारे जेलेन्स्कीले प्रश्न उठाएका छन्। क्रेमलिनले पनि युरोपेली वार्ताकारहरूको सहभागिताप्रति सकारात्मक संकेत नदेखाएको उनको भनाइ छ। युक्रेनी राष्ट्रपति अमेरिकी प्रशासनको वार्ता शैलीप्रति असन्तुष्ट भइरहेका बेला ट्रम्पले भने रुस र युक्रेनबीच शान्ति सम्झौता हुने सम्भावना अझै बलियो रहेको बताउँदै आएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गरेको अभिव्यक्तिमा चीनमा पुटिनसँग भएको शिखर बैठकका क्रममा आफूले रुसलाई युरोपका विभिन्न क्षेत्रमा गरिएका सैन्य अतिक्रमण फिर्ता लिन आग्रह गरेको उल्लेख गरेका थिए। उनले युक्रेनसँग शान्ति सम्झौता गर्ने सम्भावना सकारात्मक रहेको दाबीसमेत गरेका छन्।यस्तै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् ।

उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताए । यद्यपि, उनले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पारेका छैनन् । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गरेका छैनन् । फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए । गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन् । ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेको भए पनि किएभलाई संयम अपनाउन आग्रह गरेका छनन् ।

उनले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गरे । यसैबीच, ट्रम्पका ज्वाइँ तथा युक्रेन युद्धका लागि अमेरिकी दूत जारेड कुसनर र उहाँका व्यापारिक मित्र स्टिभ विटकफमाथि मस्कोको पक्ष लिएको आरोप लाग्दै आएको छ । कुसनरले बुधबार जर्मन एमडी मिट्स पोडकास्टसँगको अन्तर्वार्तामा पुटिनले आणविक हतियार प्रयोग नगर्ने सहमति जनाएर संयम देखाइसकेको बताए । उनले युक्रेन द्वन्द्वलाई युरोपले रुसविरुद्ध युक्रेनलाई आर्थिक सहयोग र हतियार उपलब्ध गराइरहेको प्रोक्सी युद्धका रूपमा वर्णन गरे । पूर्वी युक्रेनका भूभागको विषयमा पुटिनसँगको वार्ता गतिरोधमा रहेको कुसनरले स्वीकार गरे । उनले युद्ध थप चर्किन सक्ने चेतावनी दिँदै द्वन्द्व व्यापक रूपमा विस्तार हुन धेरै गलत आकलन आवश्यक नपर्ने बताए ।

ट्रम्पले अर्को महिना मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने वा नहुने निश्चित नभएको बताउँदै उनी आउन चाहेमा स्वागत गरिने स्पष्ट पारेका छन् ।सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच भएको तनावपूर्ण भेटवार्तापछि दुई देशको सम्बन्ध व्यवस्थापनमा युक्रेनी राष्ट्रपति थप सतर्क देखिएका छन्। उक्त भेटवार्ताका क्रममा दुई नेताबीच सार्वजनिक रूपमै असहज अवस्था सिर्जना भएको थियो। त्यसयता अमेरिकी प्रशासनसँगको सम्बन्ध बिग्रन नदिन जेलेन्स्कीले आफ्नो अभिव्यक्ति र कूटनीतिक कदममा सावधानी अपनाउँदै आएका छन्। युक्रेनलाई सैन्य, आर्थिक तथा प्राविधिक सहयोगका लागि अमेरिका महत्त्वपूर्ण साझेदार रहँदै आएको छ। त्यसैले ट्रम्प प्रशासनसँगको सम्बन्धमा तनाव बढ्दा युद्धको मोर्चामा समेत असर पर्न सक्ने चिन्ता युक्रेनी नेतृत्वमा देखिन्छ। यद्यपि, रुससँगको सम्बन्ध र पुटिनको भूमिकाबारे आफ्नो धारणा परिवर्तन गर्न नसकिने जेलेन्स्कीको संकेत छ। आफ्नो देशमाथि आक्रमण गर्ने नेतृत्वलाई मित्रका रूपमा स्वीकार गर्न नसकिने उनको स्पष्ट अडान छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top