११ मंसिर , काठमाण्डौ ।
वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसपछि जारी भएको संविधानमार्फत मुलुकमा करिब दुई दशकभन्दा लामो समय बहुदलीय शासन व्यवस्था सञ्चालन भयो । राजनीतिक परिवर्तनसँगै नागरिकले सुशासन, पारदर्शिता र आर्थिक समृद्धिको उच्च अपेक्षा राखेका थिए।
तर, विडम्बना के रह्यो भने, त्यस अवधिमा मुलुकमा विकास र सुशासनभन्दा बढी नीतिगत तथा संस्थागत भ्रष्टाचारका ठूला–ठूला काण्डहरू सतहमा आए। राजनीतिक विश्लेषकहरू र नागरिक समाजका अनुसार, २०४६ सालपछिको लामो शासनकालमा पूर्वप्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीहरू कुनै न कुनै रूपमा भ्रष्टाचारको आरोप वा विवादमा तानिए।

लाउडा, धमिजा, चेज एयर, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टी–इस्टेलगायतका दर्जनौँ ठूला काण्डहरूले देशको अर्थतन्त्र र राजनीतिक प्रणालीलाई नै गम्भीर रूपमा बदनाम बनायो।
विगतका यी ठूला भ्रष्टाचार प्रकरणहरूमा केही अपवादबाहेक संलग्न मुख्य राजनीतिक नेतृत्वलाई कानुनी दायरामा ल्याउन सकिएन। केही सीमित पूर्वमन्त्री तथा दोस्रो तहका राजनीतिज्ञहरूमाथि कारबाही भए पनि निर्णयकर्ता र सरकारको नेतृत्व गरेका शीर्ष नेताहरू सधैँजसो उन्मुक्ति पाउँदै आए।
भ्रष्टाचार निवारणको संवैधानिक अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता पनि प्रायः तल्लो र मध्यम तहका कर्मचारीहरूमाथि मुद्दा दायर गर्नमा मात्र सीमित देखियो। नीतिगत निर्णयको आवरणमा मन्त्रिपरिषद्बाट भएका ठूला आर्थिक अनियमिततामाथि छानबिन गर्न अख्तियारले समेत क्षेत्राधिकारको प्रश्न उठाउँदै पन्छिने प्रवृत्तिले दण्डहीनतालाई व्यापक रूपमा प्रश्रय दियो ।
वर्षौंदेखिको यही कुशासन, बेथिति र दण्डहीनताविरुद्ध २०८२ साल भदौ २३ र २४ गते युवा पुस्ताको नेतृत्वमा ऐतिहासिक ‘जेनजी आन्दोलन’ चर्कियो। पुराना राजनीतिक दलहरूको कार्यशैली र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको युवा शक्तिले मुलुकको राजनीतिक कोर्स नै बदलिदियो।
उक्त आन्दोलनको रापताप र त्यसपछि सम्पन्न निर्वाचनको जनमतमार्फत मुलुकको बागडोर अहिले युवा पुस्ताको काँधमा आइपुगेको छ। हालसम्मकै कान्छा प्रधानमन्त्रीका रूपमा बालेन शाहले सरकारको नेतृत्व सम्हालिरहेका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको वर्तमान सरकारले ‘सुशासन’ र ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ को नीतिलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ। सरकार गठनलगत्तै सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र अनियमितता रोक्न विभिन्न कदमहरू चालिएका छन्।
यसको सकारात्मक संकेतस्वरूप पछिल्लो समय केही उच्च पदस्थ कर्मचारी तथा प्रभावशाली व्यक्तिहरू पठनपाठन र अनुसन्धानको दायरामा आउन थालेका छन्। वर्षौँदेखि फाइल थन्किएका केही प्रकरणहरूमाथि पुनः अनुसन्धान सुरु हुनुले आम नागरिकमा ठूलो आशाको सञ्चार गराएको छ।
यद्यपि, सरकारको पछिल्लो सक्रियताका बावजुद आम नागरिक र सुशासनका पक्षधरहरूमा एउटा गम्भीर चिन्ता र प्रश्न अझै कायम छ— के विगतमा भ्रष्टाचारको मुहान मानिने सरकारको नेतृत्व गरेका शीर्ष नेताहरूलाई यो सरकारले पनि छुन नसक्ने हो?
अहिलेसम्म भएका पक्राउ र कारबाहीहरू कर्मचारीतन्त्र वा बिचौलियाको तहमा मात्र सीमित हुन थालेको हो कि भन्ने आशंका उब्जिएको छ। विगतमा सत्ता र शक्तिको आडमा अकुत सम्पत्ति आर्जन गरेका र ठूला नीतिगत भ्रष्टाचारमा मुछिएका पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरूमाथि अनुसन्धान अघि नबढ्दा कतै यो सरकारले पनि पुरानै प्रवृत्तिको निरन्तरता त दिने होइन भन्ने प्रश्न उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “कर्मचारीलाई मात्र कारबाही गरेर वा साना माछा समातेर मात्र देशमा सुशासन कायम हुन सक्दैन। भ्रष्टाचारको जरो भनेको नीतिगत निर्णय गर्ने उच्च राजनीतिक नेतृत्व नै हो। यदि जेनजी आन्दोलनको म्यान्डेटअनुसार बनेको युवा नेतृत्वको सरकारले पनि ठूला फाइल खोल्न र शीर्ष नेताहरूलाई कानुनी कठघरामा उभ्याउन सकेन भने जनतामा गहिरो निराशा छाउनेछ।”
प्रधानमन्त्री बालेन शाह र उनको टिमका लागि यतिबेला एकातिर विगतका जटिल कानुनी र संवैधानिक जञ्जालहरू चिर्दै ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्ने चुनौती छ भने अर्कोतिर आम युवा र नागरिकको उच्च अपेक्षालाई सम्बोधन गर्नुपर्ने दबाब छ।
विगतका सरकारले गठन गरेका छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नीतिगत निर्णयमाथि पनि छानबिन गर्न सक्ने गरी कानुनी रूपमा बलियो बनाउने र शक्तिशाली व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने आवाज बलियो बन्दै गएको छ।
अहिले सबैको ध्याना मलेसिया गएका नेपालीहरुमागि अतिरिक्त अनावश्यक रकम उठाएर ठगीको आरोपमा हाइप्रोफाइलहरु पक्राउ परेका छन् । पूर्वश्रममन्त्रीसहितको समूहमाथि एउटा गम्भीर आरोप लागेको छ। स्वास्थ्य परीक्षणबापत तोकिएकोभन्दा बढी रकम लिएर मलेसिया जाने श्रमिकमाथि आर्थिक शोषण भयो।
तर, अनुसन्धान गर्दा पुष्टि भएको छ– स्वास्थ्य परीक्षणका लागि एक रुपैयाँ पनि रकम तिर्नु नपर्नेमा नेपाली श्रमिकबाट धमाधम उठाइएको थियो। नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा स्पष्ट लेखिएको छ– श्रमिकको टिकट, भिसा र बायोमेट्रिकसहितको स्वास्थ्य परीक्षणको रकमको जिम्मेवारी रोजगारदाता कम्पनीको हुनेछ।
श्रमिकले स्वास्थ्य परीक्षणका लागि नेपालमा रकम भुक्तान गरिहालेमा पनि पहिलो महिनाको तलबसहित सोधभर्ना पाउनुपर्छ। उताबाट रकम नेपाली श्रमिकको खातामा आउनुपर्नेमा यताबाट पैसा उठाएर धमाधम मलेसिया पठाइएको थियो। श्रमिकबाट अनधिकृत रकम उठाएर मलेसिया पठाउन मन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवरले निर्णय नै गरेका थिए ।
यस अवधि डोलप्रसाद (डीपी) अर्याल र शरतसिंह भण्डारीका पालामा मन्त्रालयको सक्रियतामा श्रमिकमाथि सङ्गठित शोषण गरिएको थियो। चार वर्षमा चार मन्त्रीको कार्यकालमा साढे सात लाख श्रमिकबाट दुई अर्ब ३७ करोड रुपैयाँ लुटेर एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको थियो। पूर्वमन्त्री यादव र कुँवर अहिले सीआईबीको हिरासतमा छन्।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको सम्झौताले श्रमिकलाई शून्य लागतमा लैजाने र स्वास्थ्य परीक्षणसमेतको खर्च रोजगारदाताले बेहोर्ने स्पष्ट व्यवस्था गरेको छ। तर काठमाडौँमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी हरेक श्रमिकबाट सम्झौतामा उल्लेखै नभएको १०० रिङ्गिट अर्थात् रु. ३,१६४ ‘बायोमेडिकल’ शुल्क असुलियो।
मलेसिया जाने नेपाली श्रमिकसँग सरकारी सम्झौता विपरीत अवैध रूपमा रकम असुली गरेको प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बन्दै छ । यस प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यसअघि दुई दिनको म्याद पाएको सीआईबीले अनुसन्धान नसकिएको भन्दै थप म्याद माग गरेको थियो। दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना अहिले हिरासतमा छन्। पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई भारतमा पक्राउ गरी बिहीबार मात्र काठमाडौँ ल्याइएको छ।
तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि हिरासतमै छन्। यसअघि सीआईबीले चारजनालाई पक्राउ गरेको थियो– कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र मलङ्गवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी।
अनुगमन प्रतिवेदनमा रवीन्द्र केसी ‘ए क्वालिटी हेल्थ केयर डायग्नोस्टिक सेन्टर’ का सञ्चालक र मलेसियन भिसा सेन्टरका सहसञ्चालकका रूपमा उल्लेख छन्। अमिताभ बुद्ध मेडिकल सेन्टरका सञ्चालकको नाम पनि रामपुकार तिवारी उल्लेख छ। सबैमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
यस्तै, बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटा, व्यवसायी महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पनि थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति दिएको छ । उनीहरुमाथि पनि सङ्गठित अपराधका विषयमा अनुसन्धान भइरहेको छ।
अन्ततः इतिहासले युवा पुस्तालाई सुशासन स्थापित गर्ने र दण्डहीनताको अन्त्य गर्ने दुर्लभ अवसर प्रदान गरेको छ । वर्षौँदेखि उन्मुक्ति पाउँदै आएका भ्रष्टाचारका मुख्य योजनाकारहरूलाई कानुनी दायरामा ल्याएर ‘कानुनभन्दा माथि कोही छैन’ भन्ने सन्देश दिन सके मात्र वर्तमान सरकारको ‘शून्य सहनशीलता’ को नीति सार्थक ठहरिनेछ ।
अन्यथा, विगतका सरकारहरूजस्तै यो सरकार पनि आश्वासनमै सीमित रहने त होइन भन्ने नागरिकको चिन्ता यथार्थमा परिणत हुने जोखिम रहन्छ।





