युएस सेनामाथि आक्रमण गर्न इरानले स्टारलिंक प्रयोग गरेको खुलासा

१३ मंसिर २०८३, आइतबार
Share this
798shares

१३ मंसिर , काठमाण्डौ । इरानी सेनाले होर्मुज जलमार्ग र फारसको खाडीको जलक्षेत्रमाथि उडिरहेको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ । बीबीसी फारसीका अनुसार, इरानको तस्निम समाचार एजेन्सीले सेनाको जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै उक्त ड्रोनलाई देशमै विकसित हवाई रक्षा प्रणालीमार्फत पहिचान गरी नष्ट गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “यो शत्रुको ड्रोनलाई स्वदेशमै विकसित हवाई रक्षा प्रणालीमार्फत पहिचान गरी नष्ट गरिएको हो ।” तर, खसालिएको ड्रोनको प्रकार र घटना भएको ठ्याक्कै समयबारे विज्ञप्तिमा केही खुलाइएको छैन । पछिल्ला हप्ताहरूमा इरानले होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा अमेरिकी ड्रोन खसालेको दाबी गर्दै आएको छ । यसअघि शुक्रबार पनि इरानले आफ्नो सिस्तान र बलुचिस्तान प्रान्तमा एउटा ‘शत्रु’ ड्रोनलाई रोकेर सुरक्षित रूपमा खसालेको जनाएको थियो ।

Advertisement

यसैबीच अमेरिकी सेनामाथि आक्रमण गर्न इरानले इलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक प्रयोग गरेको खुलेको छ । अमेरिकी अखबार द वासिङ्टन पोस्टले यसबारे जानकारी भएका चार जनालाई उद्धृत गर्दै इरानले अमेरिकी सेनाविरुद्धका सैन्य कारबाहीमा स्टारलिंक प्रयोग गरेको खुलासा गरेको हो । स्टारलिंकले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिन्छ । यसका लागि जमिनमा तार बिछ्याउन वा मोबाइल टावर बनाउनुपर्दैन । आकाशमा रहेका स्याटेलाइटसँग सम्पर्क गरेर सानो उपकरणमार्फत इन्टरनेट चलाउन सकिन्छ । त्यसैले इन्टरनेट सेवा बन्द गरिएका वा सञ्चार सुविधा कमजोर भएका ठाउँमा पनि स्टारलिंक प्रयोग गर्न सकिन्छ ।वासिङ्टन पोस्टका अनुसार इरानले सैन्य गतिविधिबारे सूचना आदानप्रदान गर्न र विस्फोटक पदार्थ बोकेका मानवरहित विमान (ड्रोन) सञ्चालन गर्न स्टारलिंक प्रयोग गरेको थियो । यस्तो इन्टरनेट सुविधाले सेनालाई टाढाबाटै सूचना पठाउन र प्राप्त गर्न मद्दत गर्छ । ड्रोनको सञ्चालनमा पनि सञ्चार सम्पर्क कायम राख्न सकिन्छ । तर, इरानले कुन आक्रमणमा स्टारलिंक प्रयोग गरेको थियो भन्ने चाहिँ खुलेको छैन । गत मार्च १ मा कुवेतको पोर्ट सुआइबामा भएको ड्रोन आक्रमणमा अमेरिकी सेनाका ६ सदस्य मारिएका थिए । उक्त आक्रमणमा स्टारलिंक प्रयोग भए÷नभएको पुष्टि भएको छैन । रोयटर्सका अनुसार रक्षा मन्त्रालयकी प्रवक्ताले स्टारलिंकको प्रयोगबारे रक्षा मन्त्रीलाई बुझाइएको भनिएको गोप्य प्रतिवेदनबारे आफूलाई थाहा नभएको बताएकी छन् । इरानमा स्टारलिंक प्रयोग गर्न अनुमति छैन।तर मस्कले त्यहाँ यसको सेवा सक्रिय राखेका छन् । इरान सरकारले इन्टरनेट बन्द गर्दा सर्वसाधारण र सरकारका आलोचकहरूले बाहिरी संसारसँग सम्पर्क गर्न यसको प्रयोग गर्दै आएका छन् । सरकारले इन्टरनेट बन्द गरे पनि स्टारलिंकको उपकरण भएका मानिसले स्याटेलाइटमार्फत इन्टरनेट चलाउन सक्छन् । स्टारलिंकको यही सुविधाले इरानमा सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम राख्न सहयोग गरेको छ । तर, यसको प्रयोग सैन्य गतिविधिमा पनि हुन थालेपछि मस्कको कम्पनी स्पेसएक्सका लागि चुनौती थपिएको छ । इरानले अमेरिकी सेनाविरुद्ध यसको प्रयोग गरेको खबर सार्वजनिक भएपछि कम्पनीले आफ्नो सेवा कसरी र कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा निगरानी बढाउनुपर्ने अवस्था आएको छ ।

इरानले अमेरिकाविरूद्धको युद्धमा स्टारलिंकको इन्टरनेट प्रयोग गरेको थाहा पाएपछि उनी आक्रोशित भएको पनि वासिङ्टन पोस्टले जनाएको छ । त्यसमाथि अमेरिकी सेनाले पनि सस्तो शुल्कको योजना लिएर महँगो शुल्कको प्रविधि चलाइरहेको र त्यसबापतको शुल्क समेत नतिरेको भनेर मस्क आक्रोशित भएका थिए । अमेरिकी सेनाले पनि स्टारलिंकको सैन्य संस्करण स्टारसिल्ड प्रयोग गरेर एकपटक प्रयोग गरी आक्रमण गर्ने लुकास ड्रोन उडाएको थियो । मस्कले मार्च १ मै आफ्नो सामाजिक सञ्जाल एक्समा हतियार प्रणालीमा व्यावसायिक स्टारलिंक प्रयोग गर्नु सेवाका सर्तविपरीत भएको बताएका थिए । उनले यस्तो प्रयोग पत्ता लागे सेवा बन्द गरिने चेतावनी दिएका थिए । सेनाले हवाई गतिविधिका लागि महँगो योजना लिनुपर्नेमा जमिनमा आधारित गतिविधिका लागि मात्रै अनुमति भएको सस्तो योजना प्रयोग गरिरहेको मस्कले थाहा पाएका थिए ।

Advertisement

यसअघि रुसले पनि युक्रेनमाथि आक्रमण गर्दा स्टारलिंक प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो। रुसले ड्रोनमा स्टारलिंकका उपकरण जडान गरेर प्रयोग गर्न थालेपछि स्पेसएक्सले युक्रेनमा ती उपकरणको प्रयोग सीमित गर्ने उपाय अपनाएको थियो । स्टारलिंक सर्वसाधारणका लागि सञ्चारको माध्यम भए पनि युद्धमा यसको प्रयोगले नयाँ सुरक्षा चुनौती देखाएको छ। विशेषगरी नागरिकलाई इन्टरनेट सुविधा दिन प्रयोग भइरहेको प्रविधि सैन्य गतिविधिमा समेत प्रयोग हुन थालेपछि त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न उठेको छ । यसैबीच यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेको बेलायती सामुद्रिक व्यापारिक निकायले शनिबार जानकारी गराएको छ ।

उक्त निकायले भनेको छ, ’अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।’ यूकेएमटीओले अगाडि भनेको छ, ’आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।’ विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् । फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व युद्ध सुरु भएदेखि अरेबियाली प्रायद्वीप वरपरका जहाजहरू पनि बारम्बार द्वन्द्वको चपेटामा परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top