संवेदनाहीन हुँदै सेल्फी, विकृति र घटनाको पनि कारक

८ कात्तिक ७५, बिहीबार
Share this
797shares

टेकराज बन्जरा

Advertisement

पहिले एक जमाना थियो जतिबेला क्यामरा कमैले देख्थे, कुनै कारण फोटो खिच्दा पनि कतै बाङ्गो पो परिन्छ कि भनेर मुर्तीझैँ ठाडो बसेर फोटो खिचिन्थ्यो । तर जमाना परिवर्तन भईसकेको छ, जब स्मार्टफोन हातमा हुन्छ, तन्नेरीहरु ओंठ चुच्चो बनाएर सेल्फी पोजमा बस्न सुरु गर्छन् ।

समय र प्रविधिसँगै रोगपनि थपिएका छन् , पहिला मेलापात वा अन्य काम गर्दा चोटपटक लागेर अस्पताल जानेगरिन्थ्यो भने आजकाल घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरीहरु अस्पताल धाउन थालेका छन् ।

Advertisement

पछिल्लो समय किशोर किशोरीमा सेल्फी कुलत बढी मात्रामा रहेको पाईन्छ । सेल्फीलाई कुन तरिकाले खिच्ने भन्ने कुराले राम्रो कि नराम्रो भन्ने कुरामा भर पर्छ । सेल्फीबाट मानिसले आफ्नो अवस्था, सुन्दरता र उछृङ्खलता देखाउन खोज्छन् ।

सही तरिकाले प्रयोग गरेको खण्डमा सेल्फी नराम्रो भन्न सकिँदैन ।सेल्फीलाई सामान्य मानिसले पनि सामाजिक सञ्जालमार्फत आफूलाई सार्वजनिक गर्न पाएका छन, यसलाई सकारात्मक रूपमा लिनुपर्छ । कुनै ब्यक्तिसँगको अविस्मरणीय भेट तथा कुनै खुसी पललाई कैद गरेर राख्दा पनि आफुलाई आनन्दको अनुभुति हुन्छ ।

Advertisement

के हो सेल्फी ? यस्तो छ सेल्फीको इतिहास

अक्सफोर्ड डिक्सनरीले स्मार्टफोन वा वेबक्यामेराबाट आफ्नै तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्यलाई ‘सेल्फी’ भनी परिभाषित गरेको छ । इनसाइक्लोपिडियाका अनुसार सेल्फीको इतिहास डेढ शताब्दीभन्दा पूरानो छ ।

अमेरिकी फोटोग्राफर रोबर्ट कार्नेलियसले संसारमा पहिलोपटक सन १८३९ मा आफ्नै कोठामा पहिलोपटक आफैँले तस्बिर खिचेका थिए, जसलाई ‘सेल्फ पोटे«ट’ भनिन्थ्यो । त्यही सेल्फ पोट्रेट नै संसारको पहिलो सेल्फी भएको थियो ।

तर, सेल्फी शब्दको प्रयोग भने पहिलो पटक १३ सेप्टेम्बर सन २००२ मा अस्टे«लियाबाट प्रकाशित वेबसाइट ‘फोरमएबीसी’ले प्रयोग गरेको भनिन्छ ।

रोबर्ट कार्नेलियसले खिचेको सो सेल्फ पोट्रेट ७० लाख पाउन्डमा लिलामी भएको बताइन्छ । सेल्फीको बिषयमा बीबीसीले भने यो बहसको विषय रहेको बताएको छ । पछि क्यामेरामा समय सेटिङ गरी निश्चित दूरीमा उभिई फोटो खिच्ने चलन भित्रियो ।

त्यसपछि मोबाइलमा फ्रन्ट क्यामेराको विकाससँगै सेल्फीले झनै विकसित रूप लिएको बताईन्छ । सन २०१३ देखि यो शब्दले संसारभर राज गरेको छ । समूहमा बसी तस्बिर खिच्ने प्रक्रियालाई यदाकदा बेल्फी भन्ने गरिएको पनि पाईन्छ । तर, यसको खासै प्रयोग भने भएको पाइँदैन ।

विकृति र घटनाको कारक
आजकाल युवा युवतीहरुले यस्ता सेल्फी खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड नगरेसम्म उनीहरुलाई चित्त बुझ्दैन । अपलोड गरेको सेल्फीमा लाइक तथा कमेन्ट्स नआउञ्जेल पनि उनीहरुलाई धर हुँदैन ।

सेल्फी मार्फत उनीहरु साथीभाईलाई वास्तविकता भन्दा फरक देखाउन खोज्छन् । कुनै कुराको स्मरणको लागि समय सापेक्ष सेल्फी लिनु कुनै नराम्रो कुरा भने हैन । तर,पछिल्लो समय सेल्फीका कारण विभिन्न घटनाका कारक र विकृति बनेका छन् ।

पछिल्लो समय छोटो लुगाामा खिचिएको सेल्फीकै कारण समाजमा विभिन्न अपराधका घटनाहरु समेत बढ्दै गएका छन । अमेरिकी साइकोलजिकल एसोसियसनका अनुसार ऐनाको अगाडि सर्वांग नांगो उभिएर आफ्नो संवेदनशील अंगलाई एउटा औंलाले छोपेर सेल्फी लिने प्रचलन पनि पछिल्लो समय जापानमा बढेको छ ।

हामीमाझ सेल्फीकै कारण वैवाहिक सम्बन्धमा समेत फाटो आएका, हुन लागेको विवाह समेत टुटेको तथा कयौ युवतीहरुका लागि यस्ता सेल्फीले पछि गएर गलाको पासो बनेका प्रशस्तै उदाहरणहरु पाउन सकिन्छ ।

सेल्फीकै कारण पछिल्लो समय धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यसका सौखिनहरू जोखिमयुक्त स्थानमा सेल्फी लिने होडबाजीले मृत्युको शिकार हुने गरेका छन । सेल्फीका कारण बढी ज्यान गुमाउनेहरुको देशमा भारत अग्रस्थानमा पर्छ ।

नेपालमा पनि यस्ता घटना समय समयमा भईनै रहेका छन् । सेल्फी खिच्ने धुनमा पछि के होला भन्ने नसोची अग्लो भवन, रेल्वे लाइन, नदीको किनारलगायत स्थानमा सेल्फी खिच्ने क्रम बढेको पाईन्छ ।

सन २०१४ को मार्चदेखि सन २०१६ को सेप्टेम्बरसम्ममा भएका १ सय २७ त्यस्ता घटना मध्ये ७६ वटा भारतमा भएको र ज्यान गुमाउनेहरू युवा उमेरका रहेको एक तथ्याँकमा देखाईएको छ । त्यसपछि, भारतका केही स्थानमा नो सेल्फी जोन समेत घोषणा गरिएको थियो ।

०७३ चैत ४ मा बर्दियाका १६ वर्षे किशोर रुपेश श्रेष्ठ कणार्ली पुलमा सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका थिए । त्यस्तै,केही समय अघिमात्र हुम्लाको सिमिकोटदेखि मानसरोवर जाने हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा पंखामा लागेर मुम्वईका ४२ वर्षिय नगेन्द्रकुमार कात्तिकेको मृत्यु भएको थियो ।

सेल्फीले मानवीय संवेदना घट्दै गएको हो ?
पछिल्लो समय मानिसहरुले सेल्फी खिच्ने धुनमा मानवीय संवेदना नै विचार गर्न छाडेको विज्ञहरु बताउँछन् । कुनै दुखद् घटना भएको ठाउँमा हाँस्दै सेल्फी लिनेहरुपनि यदाकदा भेटिने गरेका छन् भने कस्तो ठाउँ, कुन समयमा सेल्फी लिँने भन्ने कुरापनि उनीहरुलाई याद हुँदैन ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिमा सर्वसाधारणको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भइरहेको थियो । सोही अवस्थामा एक जनाले पूर्वप्रधानमन्त्रीको शवलाई पृष्ठभूमिमा राखेर सेल्फी लिए । जसलाई एउटा उदाहरण मान्न सकिन्छ ।

भारतको राजस्थानस्थित जयपुरमा दाइजो नल्याएको भन्दै जेठाजुबाट बलात्कृत महिलासँग महिला आयोगकी एक सदस्यले मुस्कुराउँदै लिएको सेल्फी निकै विवादमा तानिएको थियो । यो पनि एउटा मानवीय संवेदना गुमाएको गतिलो उदाहरण हो ।

सेल्फीले मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ । यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेको छ । वास्तवमा, आफूमा बढी केन्द्रित हुनु भनेको अरूप्रतिको संवेदना कमजोर हुनु हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top