Nepal Times
Nepal Times
3
Shares

संवेदनाहीन हुँदै सेल्फी, विकृति र घटनाको पनि कारक

संवेदनाहीन हुँदै सेल्फी, विकृति र घटनाको पनि कारक

टेकराज बन्जरा

पहिले एक जमाना थियो जतिबेला क्यामरा कमैले देख्थे, कुनै कारण फोटो खिच्दा पनि कतै बाङ्गो पो परिन्छ कि भनेर मुर्तीझैँ ठाडो बसेर फोटो खिचिन्थ्यो । तर जमाना परिवर्तन भईसकेको छ, जब स्मार्टफोन हातमा हुन्छ, तन्नेरीहरु ओंठ चुच्चो बनाएर सेल्फी पोजमा बस्न सुरु गर्छन् ।

समय र प्रविधिसँगै रोगपनि थपिएका छन् , पहिला मेलापात वा अन्य काम गर्दा चोटपटक लागेर अस्पताल जानेगरिन्थ्यो भने आजकाल घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरीहरु अस्पताल धाउन थालेका छन् ।

पछिल्लो समय किशोर किशोरीमा सेल्फी कुलत बढी मात्रामा रहेको पाईन्छ । सेल्फीलाई कुन तरिकाले खिच्ने भन्ने कुराले राम्रो कि नराम्रो भन्ने कुरामा भर पर्छ । सेल्फीबाट मानिसले आफ्नो अवस्था, सुन्दरता र उछृङ्खलता देखाउन खोज्छन् ।

सही तरिकाले प्रयोग गरेको खण्डमा सेल्फी नराम्रो भन्न सकिँदैन ।सेल्फीलाई सामान्य मानिसले पनि सामाजिक सञ्जालमार्फत आफूलाई सार्वजनिक गर्न पाएका छन, यसलाई सकारात्मक रूपमा लिनुपर्छ । कुनै ब्यक्तिसँगको अविस्मरणीय भेट तथा कुनै खुसी पललाई कैद गरेर राख्दा पनि आफुलाई आनन्दको अनुभुति हुन्छ ।

के हो सेल्फी ? यस्तो छ सेल्फीको इतिहास

अक्सफोर्ड डिक्सनरीले स्मार्टफोन वा वेबक्यामेराबाट आफ्नै तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्यलाई ‘सेल्फी’ भनी परिभाषित गरेको छ । इनसाइक्लोपिडियाका अनुसार सेल्फीको इतिहास डेढ शताब्दीभन्दा पूरानो छ ।

अमेरिकी फोटोग्राफर रोबर्ट कार्नेलियसले संसारमा पहिलोपटक सन १८३९ मा आफ्नै कोठामा पहिलोपटक आफैँले तस्बिर खिचेका थिए, जसलाई ‘सेल्फ पोटे«ट’ भनिन्थ्यो । त्यही सेल्फ पोट्रेट नै संसारको पहिलो सेल्फी भएको थियो ।

तर, सेल्फी शब्दको प्रयोग भने पहिलो पटक १३ सेप्टेम्बर सन २००२ मा अस्टे«लियाबाट प्रकाशित वेबसाइट ‘फोरमएबीसी’ले प्रयोग गरेको भनिन्छ ।

रोबर्ट कार्नेलियसले खिचेको सो सेल्फ पोट्रेट ७० लाख पाउन्डमा लिलामी भएको बताइन्छ । सेल्फीको बिषयमा बीबीसीले भने यो बहसको विषय रहेको बताएको छ । पछि क्यामेरामा समय सेटिङ गरी निश्चित दूरीमा उभिई फोटो खिच्ने चलन भित्रियो ।

त्यसपछि मोबाइलमा फ्रन्ट क्यामेराको विकाससँगै सेल्फीले झनै विकसित रूप लिएको बताईन्छ । सन २०१३ देखि यो शब्दले संसारभर राज गरेको छ । समूहमा बसी तस्बिर खिच्ने प्रक्रियालाई यदाकदा बेल्फी भन्ने गरिएको पनि पाईन्छ । तर, यसको खासै प्रयोग भने भएको पाइँदैन ।

विकृति र घटनाको कारक
आजकाल युवा युवतीहरुले यस्ता सेल्फी खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड नगरेसम्म उनीहरुलाई चित्त बुझ्दैन । अपलोड गरेको सेल्फीमा लाइक तथा कमेन्ट्स नआउञ्जेल पनि उनीहरुलाई धर हुँदैन ।

सेल्फी मार्फत उनीहरु साथीभाईलाई वास्तविकता भन्दा फरक देखाउन खोज्छन् । कुनै कुराको स्मरणको लागि समय सापेक्ष सेल्फी लिनु कुनै नराम्रो कुरा भने हैन । तर,पछिल्लो समय सेल्फीका कारण विभिन्न घटनाका कारक र विकृति बनेका छन् ।

पछिल्लो समय छोटो लुगाामा खिचिएको सेल्फीकै कारण समाजमा विभिन्न अपराधका घटनाहरु समेत बढ्दै गएका छन । अमेरिकी साइकोलजिकल एसोसियसनका अनुसार ऐनाको अगाडि सर्वांग नांगो उभिएर आफ्नो संवेदनशील अंगलाई एउटा औंलाले छोपेर सेल्फी लिने प्रचलन पनि पछिल्लो समय जापानमा बढेको छ ।

हामीमाझ सेल्फीकै कारण वैवाहिक सम्बन्धमा समेत फाटो आएका, हुन लागेको विवाह समेत टुटेको तथा कयौ युवतीहरुका लागि यस्ता सेल्फीले पछि गएर गलाको पासो बनेका प्रशस्तै उदाहरणहरु पाउन सकिन्छ ।

सेल्फीकै कारण पछिल्लो समय धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यसका सौखिनहरू जोखिमयुक्त स्थानमा सेल्फी लिने होडबाजीले मृत्युको शिकार हुने गरेका छन । सेल्फीका कारण बढी ज्यान गुमाउनेहरुको देशमा भारत अग्रस्थानमा पर्छ ।

नेपालमा पनि यस्ता घटना समय समयमा भईनै रहेका छन् । सेल्फी खिच्ने धुनमा पछि के होला भन्ने नसोची अग्लो भवन, रेल्वे लाइन, नदीको किनारलगायत स्थानमा सेल्फी खिच्ने क्रम बढेको पाईन्छ ।

सन २०१४ को मार्चदेखि सन २०१६ को सेप्टेम्बरसम्ममा भएका १ सय २७ त्यस्ता घटना मध्ये ७६ वटा भारतमा भएको र ज्यान गुमाउनेहरू युवा उमेरका रहेको एक तथ्याँकमा देखाईएको छ । त्यसपछि, भारतका केही स्थानमा नो सेल्फी जोन समेत घोषणा गरिएको थियो ।

०७३ चैत ४ मा बर्दियाका १६ वर्षे किशोर रुपेश श्रेष्ठ कणार्ली पुलमा सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका थिए । त्यस्तै,केही समय अघिमात्र हुम्लाको सिमिकोटदेखि मानसरोवर जाने हेलिकप्टरसँग सेल्फी खिच्न खोज्दा पंखामा लागेर मुम्वईका ४२ वर्षिय नगेन्द्रकुमार कात्तिकेको मृत्यु भएको थियो ।

सेल्फीले मानवीय संवेदना घट्दै गएको हो ?
पछिल्लो समय मानिसहरुले सेल्फी खिच्ने धुनमा मानवीय संवेदना नै विचार गर्न छाडेको विज्ञहरु बताउँछन् । कुनै दुखद् घटना भएको ठाउँमा हाँस्दै सेल्फी लिनेहरुपनि यदाकदा भेटिने गरेका छन् भने कस्तो ठाउँ, कुन समयमा सेल्फी लिँने भन्ने कुरापनि उनीहरुलाई याद हुँदैन ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिमा सर्वसाधारणको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भइरहेको थियो । सोही अवस्थामा एक जनाले पूर्वप्रधानमन्त्रीको शवलाई पृष्ठभूमिमा राखेर सेल्फी लिए । जसलाई एउटा उदाहरण मान्न सकिन्छ ।

भारतको राजस्थानस्थित जयपुरमा दाइजो नल्याएको भन्दै जेठाजुबाट बलात्कृत महिलासँग महिला आयोगकी एक सदस्यले मुस्कुराउँदै लिएको सेल्फी निकै विवादमा तानिएको थियो । यो पनि एउटा मानवीय संवेदना गुमाएको गतिलो उदाहरण हो ।

सेल्फीले मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ । यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेको छ । वास्तवमा, आफूमा बढी केन्द्रित हुनु भनेको अरूप्रतिको संवेदना कमजोर हुनु हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.