विराटनगर : विराटनगरमा खाना खान चलेका होटलहरुको भान्सा फोहोर भेटिएको छ ।सोमबार वाणिज्य कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा ट्राफिक चौकमा रहेको सिन्धी होटलको भान्साको भित्तामा फोहार भेटिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
सिन्धी होटललाई भान्सा नजिकै रहेको शौचालय बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा भान्सामा चिम्नी राखी सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ ।
पत्रकार महासंघ मोरङ नजिकै रहेको टिफिन होटलमा शाकाहारी र मांशाहारी खानेकुरा एउटै फ्रिजमा राखिएको पाइएको छ भने सरसफाइमा ध्यान दिन टोलीले निर्देशन दिएको छ ।
यस्तै बसपार्क छेउका कार्की होटल र थापा होटलको अनुगमन गरिएको छ । दुवै होटलहरुले सरसफाइमा ध्यान दिएको पाइएको थियो भने ती होटलमा मूल्य सुची राख्न निर्देशन दिइएको छ । टोलीले अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।