विराटनगर, कार्तिक २१
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । यतिबेला विराटनगरको बजारमा तिहारका लागि फूलका माला किन्नेहरुको अत्यधिक भीड लागेको छ ।
तिहारले छपक्कै छोपेपछि बजार पसल तथा घरहरु विभिन्न फूल तथा बत्तीहरुले बेहुली झै सजाईएको छ । तिहारमा प्रयोग गरिने सयपत्री, मखमली जस्ता फूल तथा तिनबाट बनेका माला लक्ष्मीपूजा गर्न र दाजुभाइलाई लगाइदिने गरिन्छ ।
नेपालमा यसवर्ष साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुने अनुमान गरिएको छ । जसमध्ये तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
तिहारमा फूलको बढी माग भएपनि विराटनगरमा यस वर्ष सयपत्री फूलको केही अभाव देखिएको छ । तिहारमा विशेष गरी बढी प्रयोग गरिने सयपत्री फूल अघिल्ला वर्षहरुको तुलनामा बजारमा नपाइएको उपभोक्ताहरुले बताएका छन ।
बजारमा अहिले प्रतिगोटा २० रुपैयाँदेखि ५० रुपैयाँसम्म माला किनबेच भैरहेको छ । यो पटक दीपावली ढिलो भएको र भाइ–तिहारका लागि भनि लगाएको फूल पनि फुलिसकेकाले फूलको अभाव भएको कृषकहरुले बताएका छन ।
पहाडी जिल्लामा पनि यसवर्षको तिहारको समयमा फूलको उत्पादन आशा गरिए अनुशार नभएको भनकुटा, इलाम, तेह्थुम लगायतका क्षेत्रका कृषकहरुले बताएका छन ।विराटनगर बजारमा कलकत्ताबाट फूल आयात हुने गरेको छ । स्थानीयस्तरमा फूल खेती धेरै नहुने भएकाले भारतबाट फूल आयात गर्ने गरेको व्यापारीहरु बताउँछन ।
यस्तै फूलको अभाव भएपछि विराटनगर बजारमा अहिले फूलका मालाको सट्टा कृतिम फूलहरुबाट बनेका मालाहरुको खरिदबिक्री गर्ने क्रम पनि बढ्न थालेको छ । अहिले विराटनगर बजारमा ३० रुपैयाँदेखि २ सयसम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखिएको स्थानीय व्यापारी धनेष अग्रवालले जानकारी दिए ।