काठमाडौं ,मंसिर १०
सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२ साल पुस २३ गते ११६४.१४ विन्दुमा रहेको नेप्से त्यसपछिका दिनहरुमा क्रमशः बढ्दै १८८१ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दै तल झरेको थियो ।
त्यसपछि पहिलोपटक त्योभन्दा कममा झरेको हो । साताको दोस्रो दिन आज ६.३५ अंकले घट्दा बजार परिसूचक ११६०.२८ विन्दुमा झरेको छ ।गत वर्ष चैत १२ गते नेप्से न्यूनतम ११६६.०१ विन्दुसम्म झरे पनि त्यसपछिका दिनहरुमा नेप्से फेरि उकालो लाग्दै १४३८.४९ विन्दु सम्म पुगेको थियो ।
बजारको यो गिरावटलाई बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको लगानीयोग्य पुजीको अभाव, बढ्दो नगद लाभांशको प्रवृत्ति र नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको खराबीलाई मुख्य कारणको रुपमा हेरिएको छ ।
अनलाइन प्रणालीमा लगानीकर्ताले युजरनेम र पासवर्ड नपाएको र मार्केटडेफ्थ, फ्लोरसीट जस्ता विवरणहरु सिस्टममा नदेखाएको र यसमा नेप्से तथा ब्रोकरहरुको समेत संलग्नता रहेको भन्दै लगानीकर्ताहरुले बिहान नेप्से घेराऊ गरेका थिए ।
उनीहरुले ग्राहकले युजरनेम र पासवर्ड कहिले पाउने मिति तय गर्नुपर्ने अडान लिएपछि नेप्से, वाइको र डाटा हव कम्पनीहरुको संयुक्त बैठक बसी लगानीकर्तालाई मंसिर २३ गतेदेखि युजरनेम र पासवर्डमार्फत् कारोबार गर्न पाउने व्यवस्था गर्ने बताएका थिए ।
नेप्सेको आश्वासनपछि लगानीकर्ताहरु बाहिरिए पनि उनीहरुले बजारप्रति भरोसा गर्न सकेनन् । फलस्वरुप बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै ११६० को अंकमा झरेको हो ।(विकास न्युजबाट)









