धरान, पुष ११
पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।
धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा कृषि उपजबजार स्थल धरानमा १५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो ।
तर, यो वर्ष सिजनमा पनि ४ सय मेट्रिक टन बराबरको सुन्तला मात्र बिक्री भएको छ । बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको भोजपुरका कृषक जितेन्द्र राईको भनाइ छ ।
गत आर्थिक वर्ष ०७२÷७३ मा ६ हजार ४ सय ९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्य मात्र ५२ करोड रुपैयाँको कारोबार भएको थियो । किसानहरुको बारीमै गएर व्यापारीहरुले फुल फुल्दै गर्दा बोट नै खरिद गर्दछन् । फुल फुले अनुसारको सुन्तला नफल्दा भने व्यापारीहरुलाई घाटा भएको धरानका सुन्तला व्यवसायी टिकाराम श्रेष्ठ बताउछन् ।
उपभोक्ताले मागअनुसारको सुन्तला बजारमा आउन सकेको छैन । पुर्वी पहाडी जिल्लाहरुमा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन भएको छ । जसले गर्दा सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य दोब्बर रहेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराइको भनाइ छ ।
सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फुल लागेको वेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगहरुको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ । जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकहरुको पेशा सुरक्षित हुने थियो ।