काठमाडौं,मंसिर २४
काठमाडौँमा जारी तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत पाँचौ खेलमा सोमबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।ओपनर गौरभ तमोर र जयकिशन कोल्सावाले कीर्तिमानी शतकीय साझेदारी गरेपछि पोखरामाथि विशाल जित निकाल्न सफल भयो ।
ललितपुर प्याट्रीयट्सको यो लगातार दोस्रो जित हो भने पोखरा लगातार दोस्रो खेलमा पराजित भयो । पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको विजयी लक्ष्य पक्ष्याएको ललितपुरले १५.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । ललितपुरका लागि ओपनर कोल्सावा र तोमरले १२.३ ओभर सम्म १ सय २९ रनको साभेदारी गर्दै सहज जित दिलाए । शुसन भारीले १२.३ ओभरमा शक्ति गौचनको हातबाट क्याच गराउदै कोल्सावालालाई ५१ रनमा आउट गरे । उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
ललितपुरका गौरभले उत्कृष्ट ब्याटिङ गरे । १४ ओभरको अन्तिम बलमा पल कोग्लिनको बलमा शक्तिको हातबाट क्याच हुनु अघि उनले ४१ बलमा ८ छक्का र ४ चौका प्रहार ८२ रनको शानदार पारी खेले । त्यस्तै ललितपुरका सन्नी पटेल २० र सनु तामाङले ११ रनमा नट आउट रहे । पोखराका लागि भारी र कोग्लिन समान एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको हो । पोखराका ओपनर रिचर्ड रेभी र कप्तान कोइल कोट्जरले पहिलो विकेटका लागि १० ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पवन सराफले १० औं ओभरको अन्तिम बलमा सन्दीप जोराको हातबाट क्याच गराउदै लेभीलाई ८४ रनमा पेभिलिएन फर्काएका थिए ।
आक्रमक ब्याटिङ गरेका लेभीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । पवन सराफलेनै १४ ओभरको पहिलो बलमा सुनिल धमलालाई १० र पाँचौ बलमा कोट्जरलाई एलबीडब्लु आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि ललितपुर खेलमा फर्किएको थियो । पोखराले अन्तिम १० ओभरमा ३ विकेटको क्षतिमा ६३ रन मात्र जोड्न सक्यो ।
विनोद भण्डारीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा नट आउट रहे । त्यस्तै पल कोग्लिनले १४ पनि रन जोडे । ललितपुरका लागि पवनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर सुरुवाती टप अडरका ३ विकेट लिए । ललितपुरका पवन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।










