काठमाडौं : अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने- अमेरिकाले अब भारतका आँखाले हेर्दैन।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एक कूटनीतिक अधिकारीले बताए।
यसअघिकी अमेरिकी राजदूत अलैना बी. टेप्लिट्जले पहिलो औपचारिक अन्तरक्रियामा भनेकी थिइन्, ‘दिल्लीबाट नेपाललाई हेर्ने भए नेपालमा किन यत्रो दूतावास राखिन्थ्यो ? ’ तीन वर्षअघिको टेप्लिट्जको धारणादेखि नै नेपालप्रतिको अमेरिकी बुझाइ फरक भएको अनुमान गरिएको थियो।
परराष्ट्रमन्त्री ज्ञवालीले पनि हरेक मुलुकसँग नेपालको ‘फरक-फरक’ सम्बन्ध भएकाले अन्य मुलुकमार्फत हेर्नुभन्दा सीधा सम्पर्कमा नै नेपालले विश्वास गरेको बताए।
