धरान, पुष १४
धरानकै जेठो फुटबल प्रतियोगिता मानिएको अन्तर वडा स्तरिय रेडबुल गोधुली फुटबल रनिङ कपको १८ औं संस्करण भोलि देखि शुरु हुने भएको छ ।
आयोजक गोधुली क्लबले पत्रकार सम्मेलन गर्दै धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ ।
प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ५० हजार तथा पाउनेछ । विजेताको पुरस्कार गएको सँस्करणको भन्दा २५ हजार रुपैया बढेको छ ।
प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ८ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने क्लबले जानकारी दिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल ८ लाख ३१ हजार ३ सय रुपैया खर्च हुने क्लबको अनुमान छ । यो प्रतियोगिता धरानमा हुने मोफसलको चर्चित प्रतियोगिताहरु मध्ये सबै भन्दा जेठो मानिन्छ । धरानमा प्रतिभावान खेलाडी उत्पादनमा गोधुली कपको महत्वपुर्ण योगदान रहेको खेल जानकारहरुको भनाई छ ।