एजेन्सी, पुस २०
भारतीय किसानहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४ सय ९० भारतीय रुपैयाँ पठाएका छन्। भारतको उत्तर प्रदेशका किसानहरुले १९ हजार किलो आलु बेचेर जम्मा ४ सय ९० भारतीय रुपैयाँ प्राप्त गरेका थिए। त्यसबाट निराश भएका उनीहरुले आलु बेचेर कमाएको सबै रकम मनि अर्डरमार्फत मोदीलाई पठाएको द वायरले जनाएको छ ।
उत्तर प्रदेशको नगला नाथू गाउँका किसानहरुले कृषि विभागमा व्यापक भ्रष्टाचार भएको आरोप समेत लगाएका छन् । हिन्दुस्तान टाइम्ससँगको कुरामा किसान प्रदीप शर्माले मोदीलाई मनि अर्डर पठाएको पुष्टी गर्दै भने,’ हरेक वर्ष आलु खेती गरेर मलाई धेरै घाटा भइरहेको छ। मैले राष्ट्रपति र प्रधानमन्त्रीलाई इच्छा मृत्युको लागि निवेदन दिएको थिए। तर त्यसको केही नतिजा आएन।’
सरकारले कृषकहरुको आय वृद्धि गर्ने बताएपनि कृषि विभागमा भएको भ्रष्टाचारका कारण किसानका लागि आएको कल्याण योजना र बीमा योजना सफल हुन नसकेको किसानहरुले बताएका छन्। गत डिसेम्बरमा पनि महाराष्ट्रका किसानहरुले ७ सय ५० किलो प्याज बेचेर आएको १ हजार ६४ भारतीय रुपैयाँ नरेन्द्र मोदीलाई पठाएका थिए।
किसानहरुले मोदी सरकार किसानहरुको समस्याप्रति सचेत नभएको आरोप लगाउँदै आएको छ। ऋण र राम्रो आमदानी नभएपछि धेरै किसानले आत्महत्या गर्ने गरेको भारतीय संचार माध्यमले जनाएको छ। विपक्षी दलहरुले केन्द्र सरकारले किसानहरुको ऋण माफ गर्नेपर्ने माग राख्दै आएको छ ।
