अमेरिकामा जित हासिल गरेका नेपाली ह्यारीले लिए शपथ, कार्यकक्षमा नेपालको झण्डा

२५ पुस ७५, बिहीबार

वाशिङ्गटन डिसी,पुस २६

Advertisement

अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका छन् ।

मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । शपथग्रहण पश्चात कुरा गर्दै डेलिगेट भण्डारीले भने, ‘मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।’

Advertisement

एक प्रश्नको उत्तरमा उनले भने– ‘म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु ।’

भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करिब दुई दर्जन नेपालीले उनको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सङ्घ, अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले ह्यारीको सफलता एक एनआरएन कै सफलता भएको दाबी गरे ।

Advertisement

अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब ६ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका छन् । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् ।

यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन् । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ ।

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए । भण्डारीले जित्नुभएको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् ।

उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top