विराटनगर, माघ २२
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ नं. प्रदेश सरकारले ६ प्रतिशत मात्र चालू र पुँजीगत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको माघमहिनाको तेश्रो हप्तासम्ममा ६ दशमलब २६ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
प्रदेश लोखा नियन्त्रण कार्यालयका अनुसार चालू आवको ०७५/०७६ को माघ महिनाको तेस्रो सातासम्म कुल बजेट ३५ अर्ब ९३ करोड मध्ये २ अर्ब २५ करोड १२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जसमध्ये चालू खर्च नै बढी भएको छ ।
यो अवधिमा चालु तर्फ १ अर्ब ६६ करोड १७ लाख रुपैया खर्च भएको छ,भने पुर्जीगत तर्फ जम्मा ५८ करोड ९४ लाख रुपैया मात्र खर्च भएको अबस्था देखिन्छ ।
पुँजीगततर्फ १८ अर्ब ५० करोड ५० लाख बजेट छुट्याएको थियो । यो अवधिमा पुँजीगत तर्फको खर्चको अबस्था तीन दशमलब १२ प्रतिशत मात्रै प्रदेश सरकारले खर्च गर्न सकेको छ ।
चालू तर्फ १४ अर्ब ९२ करोड १८ लाख बजेट छुट्टयाएको मध्ये ६ दशमलव ९७ प्रतिशत मात्रै खर्च भएको छ । सात महिनाको अबधिमा प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको जम्मा बजेट खर्च शून्य दशमलब ६४ प्रतिशत मात्र भएको छ । जसमध्ये पनि पुँजीगत खर्च शून्य दशमलब २ प्रतिशत मात्रै भएको छ ।
यो अबधिमा सबै भन्दा वढी पूँजीगत खर्च गर्ने भौतिक पूर्वाधार मन्त्रालय देखिएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब ३० करोड बजेट छुट्याएको छ । जसमा चालूतर्फ ५४ करोड ४० लाख ६९ हजार छ । चालूतर्फ भने भौतिक पूर्वाधारमन्त्रालयले १७ करोड २३ लाख ९५ हजार अर्थात् १०.५४ प्रतिशत खर्च गरेको छ ।
पुँजीगततर्फ भने १५ अर्ब ७५ करोड ६० लाख बजेट छुट्टयाएकोमा शून्य दशमलब २ प्रतिशत मात्रै अर्थात् ५१ करोड ५१ लख ६८ हजार मात्रै खर्च भएको छ । अन्य मन्त्रालयको अहिलेसम्मको खर्चको अबस्था हेर्दा निराशाजनक रहेको प्रदेश लेखा नियन्त्रक बालकृष्ण थापाले बताए ।
प्रदेश सरकारका ंआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले नीति निर्माणमा समय धेरै गएकोले अब भने सरकारले गति लिने दाबी गर । उनले भने ‘अब विकासे योजना अगाडि बढ्छ ।’
कानुन, कर्मचारी र संयन्त्रको अभावले बिकास बजेट खर्च हुन नसकेकोे आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि प्रदेश नं. १ ले अन्य प्रदेशको भन्दा ठुलो आकारको बजेट ल्याएको थियो ।
