दमक, पुस २०
बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ ।
मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन गर्न डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट संघलाई १०० थान म्याट सहयोग प्रदान गरेको हो । त्यस सहयोग एक कार्यक्रम गरी डोजाङका सञ्चालकसमेत रहेका अब्बल खेलाडी राष्ट्रकुमार राईले हस्तान्तरण गरे ।
यसैगरी डोजाङले सुनसरीको इटहरीमा हालै सम्पन्न १२औँ अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीलाई समेत सम्मान गरेको छ । डोजाङले दमकको सगरमाथा मल्टिमार्शल आर्ट संघबाट प्रतियोगितामा सहभागी भएर २ स्वर्ण, ६ रजत र ३ काँस्यपदक जित्ने खेलाडीसहित टिम कोच, म्यानेजरलाई सम्मान गरेको थियो । ती सम्मान तथा खेलकुद सामग्रीको हस्तान्तरण दमक नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए ।
रासस