Nepal Times
Nepal Times
3
Shares

सुनसरीको बर्जुताल पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

सुनसरीको बर्जुताल पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

किशोर विश्वकर्मा
विराटनगर, पुस २३
सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा रहेको बर्जु तालको संरक्षणमा स्थानीयवासी जुटेसँगै यतिबेला बर्जुताल पर्यटकीय गन्तव्य बन्न थालेको छ । अहिले दैनिक ठूलो संख्यामा सर्वसाधारण पुग्ने गरेको स्थानीयको भनाइ छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जुताल फेवाताल बिर्साउने अर्को जैविक विविधतायुक्त क्षेत्र हो । १ सय ५१ बिघा क्षेत्रफलमा रहेको बर्जुतालमा १ सय बिघाको त जलाशय क्षेत्रनै छ ।

१५ वटा डुंगा सञ्चालनमा छन् । सयौं चराचुरुङ्गी र हजारौं मानिसको आवागमनले यसबेला बर्जुक्षेत्र व्यस्त छ । जाडो सिजन लागेसँगै यहाँ वनभोज जानेको संख्या बढेको छ । यो क्षेत्रमा पर्याप्त भौतिक संरचनाको निर्माण आवश्यक देखिएको छ ।

बर्जुतालको संरक्षणमा खटिएका स्थानीयको मात्रै पहल र प्रयत्नमा यो क्षेत्रको गुणात्मक विकास हुने छाँट देखिँदैन । स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् ।

सरकारी उदासिनताले लामो समयदेखि विकासको ओझेलमा पर्दै आएको बर्जुताल संरक्षणमा स्थानीयवासीले चासो दिएपछि ताल क्षेत्रमा धमाधम विकासका कार्यहरु संचालन हुन थालेकाले तालको मुहार फेरिन थालेको हो । गएको वर्ष ताललाई व्यवस्थित गर्न नेपाली सेनाले काम गरेको थियो । ३ करोड ६३ लाख बजेटमा सेनाले ताल सफाई गर्ने, तालका चारैतर्फ बॉध निर्माण घेराबेरालगायतको काम सम्पन्न गरेको थियो ।

सेनाले मुख्य ताल रहेको क्षेत्रको बीचमा शिव मन्दिरसमेत निर्माण गरिदिएको छ । जसले गर्दा अझ तालको आर्कषण यसले बढाइदिएको छ । त्यसपछि पर्यटकको चहलपहल यस क्षेत्रमा बढेको हो । धार्मिक पौराणिक महत्वको बर्जुताल प्रदेश नम्बर एककै सबैभन्दा ठूलो जलाशय भएको ताल संरक्षण समितिका अध्यक्ष बालिम चौधरीको दाबी भनाइ छ ।

स्थानीयको पहल र प्रयत्नले केही विकास हुन खोजेको बर्जुतालका लागि निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । हिन्दु धार्मिकग्रन्थ महाभारतको कहानीसँग यो ताल जोडिएको स्थानीय बताउँछन् ।

तालको अध्ययन र अनुसन्धानका लागि अष्ट्रेलिया, इङ्ल्याण्ड, अमेरिका, चीन र भारतबाट समेत पर्यटक आउने गरेका छन् । तालमा वाह्रै महिना जमिनमुनिबाट पानी उम्रिन्छ । बर्जुतालमा जलचर, थरचर प्राणीको वासस्थान छ । विभिन्न प्रजातिको चरा आउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.