यस्तो राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका

२५ पुस ७४, बुधबार

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ २४ गते मतदान हुनेछ । उच्च अदालत रहेका स्थानहरुमा विहान १० वजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

जसमा आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने उल्लेख छ ।

यसका लागि आयोगले माघ १० गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते नै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबारको दिन मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

Advertisement

आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिकालाई स्वीकृत गरी सार्वजनिक गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४।०९।२१ को बैठकले आगामी माघ २४ गते बुधबारलाई राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकेको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६ को उपदफा (१) र (२) मा निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने, निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थानसमेत उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

Advertisement

यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् , (क) महिला तीन जना, (ख) दलित एक जना, (ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना,(घ) अन्य तीन जना  निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

यसैगरी, आयोगको बुधबारै बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम प्रत्येक प्रदेशमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्नु पर्ने भएकाले न्याय परिषद् सचिवालयबाट प्राप्त नामावली बमोजिम ७ (सात) जना जिल्ला न्यायाधीशलाई मिति २०७४ साल पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, आयोगले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २०७४ साल पुस २९ गते स्थापना गर्ने निर्णय पनि गरेको छ ।

कार्यतालिका हेर्नुहाेस्                   

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top