२६ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।
अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएको बताएका थिए । उनले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासनबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।
साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिसिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।