Nepal Times
Nepal Times
3
Shares

थाकेको घण्टाघर जसोतसो समय दिँदै

थाकेको घण्टाघर जसोतसो समय दिँदै

काठमाडौँ : १२४ वर्ष पुरानो घण्टाघरको घडीका सुई निकै थाकिसकेका छन् । इन्जिनका पार्टपुर्जा गलिसकेका छन् । कर्मचारीको कठोर मिहिनतबाट नियमित दम पाइरहेकाले धन्न घडीले घण्टी हानिरहेकै छ । राणाकालको चिनो जेनतेन चलिरहेकै छ ।

घण्टाघरका मिस्त्री गणेश सापकोटा भन्छन्, “घडीलाई जबरजस्ती चलाइरहेको छु । अब धेरै चल्नेवाला छैन ।” विसं २०४४ बाट उनले सो घडी मर्मत गर्दै आएका छन् । घडी मर्मत गर्ने उनी एक्लो मिस्त्री हुन् । त्रिचन्द्र क्याम्पसका कर्मचारी सापकोटाको अवकासपछिका लागि अर्को मिस्त्री तयार गरिएको छैन ।

“मेरो अवकासपछि त्यो घडी सङ्ग्रहालयमा राखिन्छ होला” उनले भने, “अरूले त बनाउन सक्दैनन् होला ।” उनले घडीका थुप्रै सामग्री परिवर्तन गरिसकेका छन् ।

इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार घडीको सहज पहुँच नहुँदाका बखत जनताले सहजरूपमा समय थाहा पाउन् भन्नका लागि १९५१ सालमा वीरशमशेरले घण्टाघर निर्माण गर्न लगाएका थिए ।

वि.सं. १९९० को भूकम्पले भत्काएपछि नयाँ बनाइएको घण्टाघर अहिले जीर्ण छ । ‘श्री श्री श्री वीर’ लेखिएको घण्टाघर बाहिर हेर्दा निकै राम्रो देखिए पनि भित्र चिराचिरा परेको छ । तीन वर्ष अघि २०७२ सालको भूकम्पले घण्टाघरलाई निकै कमजोर बनाएको छ । भूकम्पपछि जापानी प्राविधिक आएर घण्टाघर (भवन)को एक्सरे गरेको र त्यसबाट राम्रो नतिजा नदेखिएको कर्मचारी सुनाउँछन् ।

घडीमा दम दिनका लागि घण्टाघरको माथिल्लो तलामा उक्लिएका बखत भत्किएर थिच्ने पो हो कि भन्ने त्रास कर्मचारीमा छ । दम दिएवापत कर्मचारीलाई मासिक एक हजार रुपियाँ उपलब्ध गराउने गरिएको छ । त्रिचन्द्र क्याम्पसका चारजना कर्मचारीलाई दम दिनका लागि तोकिएको छ ।

उनीहरुले सातामा दुईपटक घडीमा दम दिए पुग्छ । घण्टा, मिनेट र सेकेन्डको सुईका लागि अलग अलग ठाउँमा दम दिनुपर्दछ । “तीनवटैमा गरी आधा घण्टा जति दम दिए पुग्छ,” २०४३ सालदेखि घडीमा दम दिँदै आउनुभएका कर्मचारी नातीबाबु थापाले भन्नुभयो । थापा बाहेक मानबहादुर बुढाथोकी, बाबुराम लामिछाने र ईश्वर महर्जनले पालैपालो दम दिँदै आउनुभएको छ । ,याे खबर आजकाे गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.