विराटनगर, चैत ७
पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत आमने सामने हुँदैछन् । विराटनगरको सहिद रंगशालामा दिनको ३ बजे हुने खेलमा नेपाल घरेलु मैदानमा पहिलो पटक साफ फुटबलको उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ भने भारत लगातार पाँचौँ साफको उपाधि उचाल्ने दाउमा छ ।
नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारतबाहेक अन्य टोलीसँग हारेको छैन । बलिया मानिएका दुवै टोली समूह चरण र सेमिफाइनलमा समेत कुनै गोल नखाई फाइनल प्रवेश गरेका छन् । समूह चरणमा नेपालले भुटानमाथि ३–०,बंगलादेशमाथि ३–० को जित निकालेको थियो भने सेमिफाइनलमा ४–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेका थियो । त्यस्तै भारतले पनि माल्दिभ्सलाई ६–०, श्रीलंकालाई ५–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा बंगलादेशमाथि ४– ० को जित दर्ता गरेको थियो ।
अघिल्ला प्रतियोगिताको तुलना गर्ने हो भने नेपाल भन्दा भारत बलियो टिम हो । भारतले साफ महिला च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको उपाधि हात पारेको छ । नेपाल भने ३ वटा संस्करणमा उपविजेता बनेको छ जसमा पनि सबै खेलमा नेपालको तगारो भारत नै थियो । नेपाल २०१०, २०१२ र २०१४ को साफ च्याम्पियनसिपमा भारतसँग पराजित भएको थियो भने २०१६ को च्याम्पियनसिपमा भारतले ३– १ को जित निकाल्दै नेपाललाई सेमिफाइनलमै रोकेको थियो । तर, भारतविरुद्ध नेपाली चेलीको पछिल्लो प्रदर्शन र घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले नयाँ इतिहास बनाउने अवसर भने पाएको छ ।
नेपालले एक महिना अगाडि भारतमा भएको हिरो कप प्रतियोगितामा भारतलाई उसकै भूमिमा पराजित गर्नु र त्यसअघि भएको ओलम्पिक छनोटमा बराबरी खेल्नुले पनि नेपाललाई बलियो सावित गरेको छ । घरेलु मैदानको फाईदा उठाउँदै नेपालले उपाधि जित्नेमा प्रशिक्षक हरि खड्का र टिम कप्तान निरु थापा विश्वस्त छन् ।बिहीबार विराटनगरमा भएको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले भने, ‘हामीले भारतसँग यसअघि दुई खेल खेलेका छौं । जसमा एक जित र एक बराबरी छ । टिमको मनोवल उच्च रहेको छ । उनीहरुको विङ्समा केही राम्रो देखिएको छ । हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।’
२०१८ को फिफा बरियता अनुसार पनि भारत नेपाल भन्दा ४६ स्थान माथि छ । दक्षिण एसियाको शिर्ष स्थानमा रहेको भारत ६२ औँ स्थानमा छ भने नेपाल १०८ औँ स्थानमा छ । भारतको यसअघिका संस्करण, यस प्रतियोगिताको फाइनलसम्म फराकिलो अन्तरको जित भएपनि घरेलु मैदानमा नेपाललाई जित्न भने कठिन नै देखिन्छ । आयोजक नेपाललाई दर्शकको साथ भएपनि आफुहरु उपाधिका लागि कडा मेहनत गर्ने भारतीय महिला टिमकी प्रशिक्षक मायामोल नेदुगदान रकिले बताईन् ।
अन्तराष्ट्रिय महिला फुटबलमा तीन दशक लामो इतिहास भएपनि नेपाली महिला टोलीले निरन्तर अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक दशक भयो । सन् २०१० देखि निरन्तर अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता सहभागिता जनाइरहेको नेपाली टोलीले अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । तर, घरेलु मैदान, समर्थकको हौसला र नेपालको पछिल्लो उपलब्धीलाई हेर्ने हो भने यसपालिको नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने सम्भावना देखिन्छ ।