काठमाडौँ ,चैत १५
राजधानीको होटल सोल्टीमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल उत्कृष्ठ गन्तव्य भएको बताए ।
विदेशी लगानीकर्ता माझ उनले भने–‘चाइना र इण्डियाको बजार खुला रहेकाले यहाँका उत्पादनललाई बजारको समस्या हुँदैन ।’ लगानीको बाताबरण बनाउन कानून निर्माण गरेका छौँ, कर पनि लगानी मैत्री भएको उनले बताए ।
यहाँ लगानी गर्दा नाफाको हुने ग्यारेन्टी छ, नाफा लैजानपनि पाइन्छ । त्यसका लागि सरकार जुनसुकै सहयोग गर्न तयार छ । प्रधानमन्त्री ओलीले यहाँ उत्पादित समान चीनसम्म पुर्याउनका लागि बाटो बनाइरहेको बताए । त्यसैगरी भारतमा सामान पुर्याउन पानी जहाज चलाउने तयारी गरिरहेकाे समेत ओलीले विदेशी लगानीकर्ता माझ प्रष्ट पारे ।
एयरपोर्टहरु पनि बन्दैछन् । प्रधानमन्त्री ओलीले भने–हवाई जहाजबाट पनि सामान निर्यात गर्न कुनै समस्या छैन । नेपालमा पूर्वाधार निर्माण भइसकेको छ, लगानीका संभावना अथाह रहेका छन्, त्यसकारण विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न हिच्किचाउनु पर्दैन–प्रधानमन्त्री ओलीले भने ।
त्यसैगरी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई स्वागत गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले समेत नेपाल लगानीको उत्कृष्ठ गन्तव्य भएको बताए । शनिबार सम्पन्न हुने लगानी सम्मेलनमा विभिन्न ४० देशबाट ६०० भन्दा बढी लगानीकर्ता सहभागी भएका छन् । सभाहलको क्षमता कम भएको र उपस्थित व्यक्तिहरुको संख्या अधिक हुँदा सम्मेलन हल भने अव्यवस्थित देखिएको छ । उपस्थित व्यक्तिहरु उभिएर समेत कार्यक्रममा सहभागी भएका छन् ।
लगानी सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी ५० सरकारी र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।(विकास न्युजबाट)