एजेन्सी, चैत २३
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । शनिवार बेलुका चेन्नईको घरेलु मैदानमा सम्पन्न खेलमा किंग्स इलाभेन पन्जावलाई २२ रनले हराउदै चेन्नई शिर्ष स्थानमा उक्लिएको हो ।
चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाउन सक्यो । पन्जाबका लागि सरफराज खानले ६७ रनको उत्कृष्ट इनिङ्स खेलेपनि अन्य खेलाडीको साथ नपाउदा पन्जाव पराजित हुन पुगेको हो । खानले ५९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर केएल राहुल ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५५ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । चेन्नईको जितमा हरभजन सिंह र स्कर्ट कुग्गेलेजइनले समान २ तथा दिपक चाहारले १ विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १सय ६० रन बनाएको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४,शेनवाटशन २६,सुरेश रैना १७ रनमा आउट भए ।
कप्तान महेन्द्रसिंह धोनी २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे। आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । धोनीले १९ औं ओभरमा साम करनलाई १ छक्का र २ चौका सहित १९ रन बटुल्न सफल भएका थिए । पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यो जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ३ मा जित र २ मा हारका साथ पन्जाव चौथो स्थानमा पुगेको छ ।