भेनेजुएलाको देशको गुप्तचर निकायले विपक्षी नेता जुवान गुवाइदोका सहायकलाई बिहीबार पक्राउ गरेको छ । संसदका उपाध्यक्षसमेत रहेका एड्गार साम्ब्रानोलाई पक्राउ गर्न लाग्दा गाडीबाट ओर्लन नमानेपछि गाडी तानेर कारागार लगिएको जनाइएको छ । गत महिना राष्ट्रपति निकोलस मदुरोविरुद्ध सैन्य विद्रोहको प्रयास गरिएयता पक्राउ पर्ने साम्ब्रानो पहिलो विपक्षी नेता हुन् । डेमोक्रयाटिक एक्सन पार्टी नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गरेको जनाए । उनका अनुसार साम्ब्रानो पक्राउ पर्नुअघि आफूसँगै एक बैठकमा सहभागी थिए । विपक्षी नेता गुवाइदोले वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन् । उनले गाडी तानेर लैजानु ’मूर्खतापूर्ण कदम’ भएको बताए । भेनेजुएलाको सर्वोच्च अदालतले सैन्य विद्रोहमा भूमिका रहेको भन्दै साम्ब्रानोलगायतलाई देशद्रोहीको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनी पक्राउ परेका हुन् । मदुरो र गुवाइदो दुवैले आफूहरूलाई आधिकारिक राष्ट्रपति दाबी गर्छन् । गत जनवरीमा गुवाइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा जारी राजनीतिक संकट थप चर्केको हो । गुवाइदोलाई अमेरिका, बेलायत तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित ५० भन्दा बढी राष्ट्रको समर्थन छ । राष्ट्रपति मदुरोको पक्षमा रूस, चीन तथा सैनिक नेतृत्व छ । दुवै नेताले आफूहरू देशको वैधानिक राष्ट्रपति भएको दाबी गर्छन् । गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेसँगै उनको सम्पत्ति रोक्का गरी देश छाड्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसको अवज्ञा गर्दै यसअघि उनले ल्याटिन अमेरिकी देशको भ्रमण गरेका थिए । त्यसको केही महिनामा उनी स्वदेश फर्केपछि मदुरोविरुद्धको आन्दोलन चर्काएका हुन् । यसअघि गुवाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मदुरोलाई सचेत गराएका थिए । तर मदुरोले विपक्षी नेताले शक्ति हत्याउने चलखेल गरेको भन्दै आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए ।