अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाएका छन् । चीनले आफ्नो देशका सामानमा अमेरिकाले कर वृद्धि गरे त्यसको कडा जवाफ दिने बताएलगत्तै ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो । दुवै पक्षबीचको आरोपप्रत्यारोपले दुई देशबीचको सम्भावित व्यापार सम्झौता तत्कालका लागि टरेको छ । ट्रम्पले शुक्रबारदेखि २ सय खर्ब डलर बराबरका चिनियाँ वस्तुको कर दोब्बर बनाउने बताइसकेका छन् । यद्यपि, जारी व्यापार विवाद अन्त्यको पहलका लागि दुई देशका प्रतिनिधिले बिहीबार वासिङ्टनमा वार्ता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । वासिङ्टनसँगको वार्तामा सहभागी चिनियाँ टोलीको नेतृत्व उपप्रधानमन्त्री लिउ हि ले गरेका छन् । उनी चीनका प्रभावशालीमध्येका एक अधिकारी हुन् । अमेरिकाको हार्भाड विश्वविद्यालयमा अध्ययन गरेका लिउ निकै राम्रो अंग्रेजी बोल्छन् । दुई देशबीचको छलफल अघि राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता तोडेको भन्दै चिनियाँ नेतालाई आरोप लगाए । यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत २ सय अर्ब डलर बराबरको चिनियाँ सामानको कर दोब्बर पार्ने बताएका थिए । व्यापार वार्तामा अमेरिकी प्रतिनिधि रोबर्ट लाइटहिजरले चीनले यसअघि जनाएको प्रतिबद्धता तोडेको आरोप लगाए । यद्यपि, उनले बेइजिङसँग अझै पनि सम्झौता हुने सम्भावना कायमै रहेको बताए । दुई देशबीचको युद्धले सेयर बजारसमेत प्रभावित भएको छ । साताको सुरुमा सार्वजनिक भएको उच्च करका कारण लगानीकर्ताको होसियारीका कारण सेयर बजार विश्वव्यापी रूपमा ओरालो लागेको जनाइएको छ । ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेयता क्यानडाले १२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर लगाइसकेको छ । युरोपेली संघले २ अर्ब ८ करोड अमेरिकी डलरको समानमा २५ प्रतिशत कर लगाएको छ । त्यसैगरी, मेक्सिकोले पनि अमेरिकी स्टिल, मासु, स्याउ र आलुमा २५ प्रतिशत कर लगाएको छ । टर्कीले अमेरिकी समानमा लगाएको कर तेब्बर वृद्धि गरेको छ भने भारतले आफ्नो देशमा निर्यात हुने बदाममा कर बढाउने योजना सार्वजनिक गरिसकेको छ ।