धनकुटा, माघ ९
धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझदेखि स्थगित भएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी दिए ।
उनका अनुसार मंगलबारदेखि ७ दिनसम्म १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम मात्र गर्ने कार्यक्रम रहेको छ ।
तर ७ दिनमा सरकारले बार्तामा वोलाएर माग सम्बोधन नगरे पुनः आमहड्ताल गर्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।
सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले आन्दोलनलाई चर्काउँदै आमहड्ताल आह्वान गरेका थिए । त्यसअघिदेखि नै धनकुटाबासी राजधानी माग गर्दै आन्दोलित भएका थिए ।