१८ जेष्ठ, २०७६
उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि शनिवार अपरान्ह स्वदेश फर्किएका छन् ।
उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते भियाना प्रष्थान गरेका हन् । उपराष्ट्रपति पुनले भियनामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग भेट गर्नुका साथै दुई पक्षीय हित र पारस्परिक सहयोगका विषयमा छलफल गरेका थिए । भेटवार्तामा उपराष्ट्रपतिले पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम् सत्रमा संबोधन गरेका थिए । आफ्नो सम्बोधनमा उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराएका थिए । साथै उपराष्ट्रपति पुनले सन् २०१८ देखि २०२८ सम्मलाई नेपालले उर्जा तथा जलस्रोतको दशक घोषणा गरेको र १० वर्षमा जलविद्युत र नवीकरणीय उर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गरेर देश विकाशको प्रक्रिया अगाडि बढाएको जानकारी पनि गराए ।
भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी हस्तमाली पुन र वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, भियनास्थित नेपाली राजदूत लगायत उपराष्ट्रपतिको कार्यालय, पराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता थियो ।