२१ जेष्ठ, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकि छिन् ।
सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराएकि छिन् । मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उनले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि स्पष्ट पारिन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताए । उनले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दावी पनि गरेका छन् ।
सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पारे ।