४ असार, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक , लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराए । सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए ।
उनले भने, “सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गर्या हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेराउ गर्दछौ । ”
उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाए । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । उनले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गरे । उनले भने, “के सोचेको हो यसले ? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो ? कसैले माने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मान्दैन । संसदमा सुन्दैन भने सडकमा जान्छ । ”
उनले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराए । उनले भने, “हिजो माईतिघर मण्डलामा गएको थिएँ । सत्तापक्षका माननियहरुले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ । सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहा जाने भन्ने एउटा प्रश्न खडा भएको छ । म सोध्दै छु सरकारमा सम्मिलित माननिय ज्यूहरुलाई तपाईको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन ? किन यस्तो विधेयक आयो ? मन्त्रीपपरिषद्मा तपाईहरु बस्नुभएको छैन ? त्यहा पास गरिदिने । र सडकमा गएर फिर्ता हुनुपर्छ भनेर नारा लगाउने ? यो दोहोरो चरित्र चल्दैन ।”
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिवद्धताबाट पछि हटेको भन्दै उनले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पाी गरे ।
उनले भने, “ कति कराउने यो गिरिशचन्द्र लालको प्रतिवेदनमा ? जनताले बुझ्न सकेको छैन । के रहेछ त्यो भित्र ? जनताको सम्पत्ति जनतामा आउनलाई किन ढिलाई ? त्यसका लागि पनि यो रोष्टम घेर्ने पर्ने हो कि ? सरकारले बोल्छ भने त्यो सत्य हुन्छ । सरकारले बोलेको कुराबाट आफै पछाडि हट्छ भने कसले, कुन जनताले विश्वास गर्ने यो सरकारमाथि ?”
उनले लोकतन्त्रको हत्या गर्ने काममा उदत्त नहुन सरकारलाई सुझाव पनि दिए ।