४ असार, विराटनगर ।
विराटनगर विमानस्थलमा बिमान दुर्घटना भएको खण्डमा अग्नि नियन्त्रण र जोखिम न्युनिकरण गर्न गरिने उपायहरुको प्रयोगात्मक अभ्यास गरिएको छ ।
जसकालागि बुधबार बिहान विमानस्थलको रनवे भन्दा केही टाढा विमान दुर्घटनाको अवस्था सृजना गर्दै संकटको अवस्थामा खटिने सम्पूर्ण सरोकारवालालाई सहभागि गराएर संकट योजनाको अभ्यास गरिएको हो । अभ्यास अन्र्तगत रनवेको छेउमा काल्पनिक दुर्घटनामा विमानमा लागेको आगो निभाउन विमानस्थलमा रहने दमकल,एम्बुलेन्स लगायतका सवारीसाधनसहित विमानस्थलमा खटिएका विभिन्न फाँटका कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
५४ जना यात्रु सवार रहेको विमानको काल्पनिक दुर्घटनामा ४ जनाको मृत्यु र अन्य २० जना घाइते भएको अवस्थालाई चित्रणगर्दै अवलम्बन गर्नुपर्ने उपायहरु र विभिन्न निकायहरुसंग गर्नुपर्ने सहकार्यको अभ्यास गरिएको थियो । सो क्रममा आगो निभाउने, घाइते र मृतकलाई अस्पताल पु¥याउनेदेखि लिएर सञ्चारकर्मीलाई सुचना उपलब्ध गराउने सम्मको अभ्यास गरिएको थियो ।
विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले वास्तविक संकट आइपरेको अवस्थामा प्रभावकारीरुपमा जोखिम न्युनिकरणगर्न यसप्रकारको अभ्यास गर्ने गरिएको जानकारी दिए । प्रत्येक दुई बर्षमा यसप्रकारको अभ्यास गर्ने गरिएको उनले जानकारी दिए । पुर्णकालीन पूर्वअभ्यासको अवलोकन गर्न प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,मोरंङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र मोरङका प्रहरी प्रमुख विश्व अधिकारीसहित नेपाली सेनाका अधिकृत र जवानहरु समेत विमानस्थल पुगेका थिए ।
अभ्यास अवधिभर विमानस्थलबाट उडान र अवतरण समेत रोकिएको थियो भने आपतकालीन अवस्थामा बजाइने साइरन समेत बजाइएको थियो ।