विराटनगर, माघ १२
मोरङको रंगेली नगरपालिकामा कर्मचारी अभाव हुदा नियमित कामहरु प्रभावित भएका छन् । कर्मचारी अभाव हुँदा समस्या भएको भन्दै रंगेलीका प्रमुख दिलिप बगडियासहितको टोलीले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
धर्नामा सहभागी महालक्ष्मी मावि रंगेलीका प्रधानाध्यापक इन्द्रमणि थापाले स्रोत व्यक्ति नहुँदा तलब निकासीका लागि माग फारम कार्यालयमै थन्किएको बताए । वद्यालय निरीक्षक तथा स्रोत व्यक्ति नहुँदा रंगेलीका शिक्षकहरुले ३ महिनादेखि तलबभत्ता पनि पाएका छैनन् ।
जिल्ला शिक्षा कार्यालयहरुका कर्मचारीहरु स्थानीय तहमा समायोजन भएपनि रंगेलीमा भने शिक्षा विभागका कर्मचारी अहिलेसम्म गएका छैनन् ।
यस्तै ९ वटा वडा रहेको रंगेलीमा ५ जना वडा सचिव समेत छैनन् । जसले गर्दा नगरपालिकाको काम काज प्रभावित भएको मेयर दिलिप बगडियाले बताए । धर्नापछि जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले तत्काल कर्मचारीको व्यवस्थापन गर्ने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो ।