विराटनगर, माघ १२
मोरङ प्रहरीले विराटनगरबाट ३६ लाख नगदसहित अबैध रूपमा हुन्डीको कारोवारमा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ । अवैध कारोबार नियन्त्रणका लागि विशेष प्रहरी परिचालन गरेर अभियान चलाएको प्रहरीले आज विराटनगर–११ स्थित कनैया गुप्ताको घरबाट ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जन कुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर–६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम रहेका छन् ।
कनैयाको घरमा सन्तोष कुमार रौनियारले आफ्नै कोठामा अफिस कार्यालय जस्तो बनाई अबैध रूपमा हुन्डीको कारोवार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र विभिन्न कागजातसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा चलाउने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए । मोरङ प्रहरीले गत असोज महिनायता हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।