अदुवा निकासी ठप्प

११ माघ ७४, शुक्रबार

इलाम, माघ १२
भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन् ।

अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् । अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् ।

“भारतीय पक्षले विभिन्न बहाना बनाएर अदुवा निर्यातमा रोक लगाएको छ,” बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने “भारतले बारम्बार अदुवा निकासी ठप्प पारेर किसान र व्यापारीलाई मारमा पारेको छ ।” नेपाली अदुवामा मिसावट नभएको उनको भनाइ छ ।

Advertisement

पटक–पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको पौडेलले बताए ।

बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित बनेका छन् ।

Advertisement

“भाउ पाइएला की भन्ने आशामा अदुवा खनियो, अदुवा निकासी ठप्प पार्यो भन्ने सुनेपछि चिन्तित छु,” उनले भने “निकासी खुलेन भने लाखौँंको अदुवा बारीमै सड्छ ।” गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए ।

यसपाली अदुवा प्रतिमन ५०० सयदेखि ७ सय रुपैयाँसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउछन् ।

अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top