१० असार, काठमाडौँ ।
चलचित्र ‘प्रेम गीत ३’ का लागि मुख्य नायिकाको खोजीमा रहेको निर्माण पक्षले टप ५ मध्येका ३ जनाको नाम सार्वजनिक गरेको छ । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माण हुन लागेको सो चलत्रिका लागि क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपानेको नाम सार्वजनिक गरेको हो ।
बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ । टप ५ मा परेको भनिएकी क्रिस्टिना अमेरिकामा अध्ययनरत छिन् र चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी हुन् । हाम्रो हाई स्कुलबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेकी स्नेहा पौडेल अस्कर कलेजमा चलचित्र सम्बन्धी अध्ययन गरिरहेकी छिन् । यसै गरी रिया बिल्कुन नयाँ अनुहार हो जो यति बेला आफ्नो नर्सिङको अध्ययन सकेर बसेकी छिन् ।
‘प्रेम गीत ’ को सफल दुई सिरिज बनाईसकेको निर्माण पक्षले मुख्य नायिकाको खोजीमा खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । चलचित्रका प्रेम र गीत दुई मुख्य पात्र हुन् जसको वरिपरि चलचित्रको कथा घुम्ने गर्छ । प्रेम गीतको यो सिक्वेलमा पनि प्रेम र गीतको नै मुख्य भूमिका रहने जानकारी आइसकेको छ । गीत को भूमिकाको लागी चलचित्र निर्माण पक्षले जानकारी गराए अनुसार विश्वभर बाट २७१४ जनाले डिजिटल अडिसन दिएको निर्माण पक्षले जानकारी दिएका थिए । त्यसबाट केही परिचित तथा केही नयाँ उत्कृष्ट २५ जना छानिएका थिए । टप २५ को अडिसनबाट निर्माण पक्षले टप ५ छानेको खबर आएको छ ।
चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन, शिव श्रेष्ठ सुनिल थापा पक्का भैसकेका छन् ।