११ असार, २०७६ ।
मुद्रण उद्योग तथा यस व्यवसायसंग सम्बन्धित व्यवसायीहरुले विदेश छपाई गरी नेपाल आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था अनिवार्य कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् ।
सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ देखि लागू हुने गरि विदेशबाट आयात गर्ने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने निर्णयको विरोध भईरहेका बेला मुद्रण व्यवसायीले निर्णय कार्यान्वयनको माग गरेका हुन् । मुद्रण व्यवसायीले उच्च गुणस्तरको छपाई नेपालमै संभव भईसकेको र विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके ५० प्रतिशत सस्तो पर्नुको साथै थप रोजगारी पनि श्रृजना हुने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन् । मुद्रण संग सम्बन्धीत विभिन्न ६ वटा संघ संस्थाले बुधबार राजधानीमा सयुक्त पत्रकार सम्मेलन गरि सरकारको निर्णयको विरोध प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय कार्यान्वयनको माग गरेका हुन् ।
संविधानको मौलिक हक अन्र्तगत राखेर निशुल्क शिक्षाको व्यवस्था गरिरहदा किताबमा कर लगाउने निर्णय गरेर शिक्षा र ज्ञान आर्जनमा अवरोध श्रृजना गर्न खोजिएको भन्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने सरकारको निर्णयको सदन देखि सडक सम्म विरोध हुदै आएको छ ।