विराटनगर, माघ १६
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट खुल्ला र महिला पदका उम्मेदवारहरु निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय विराटनगरले घोषणा गरेको छ ।
मुख्य निर्वाचन कार्यालय विराटनगरले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १ बाट खुल्ला र महिला पदका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश नम्बर १ बाट ८ जनाका लागि निर्वाचन हुने व्यवस्था छ ।
जसमा ३ जना महिला उम्मेद्वारहरु निर्विरोध भएका हुन् । निर्विरोध हुनेमा गठन्धनका नैनकला ओझा र विना पोखरेल तथा कृषि राज्यमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी सरिता प्रसाईं छन् ।
उम्मेदवारी दर्ता प्रक्रियामा महिलातर्फ ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।
त्यसैगरी खुल्लातर्फ पनि ३ जनाको पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो । जसमा वामगठन्धनबाट खडगबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै हरिचरण शिवाकोटी, पर्शुराममेघी गुरुङ नेपाली कांग्रेसका तर्फबाट रमेशजंग रायमाझी निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए । अब दलित कोटातर्फ र अल्पसंख्यक तथा अपांगता कोटामा मात्र निर्वाचन हुने खतिवडाको भनाइ छ ।
दलित कोटाका लागि बामगठबन्धनका तर्फबाट खेम नेपाली र नेपाली कांग्रेसका तर्फबाट विन विश्वकर्मा बीच प्रतिस्पर्धा हुनेछ भने अपाङगता तथा अल्पसङख्यक कोटामा राप्रपाका तर्फबाट अनुपमा साहले उम्मेदवारी फिर्ता लिएसँगै एमालेका अगम बान्तवा राई र कांग्रेसका तर्फबाट महेश जाजुबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेश नम्बर १ मा खुल्ला ३, महिला ३, दलित १ र अपाङग तथा अल्पसङख्यक मा १ गरी ८ जना चुनिनेछन् भने मतदानका लागि ९३ जनाप्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ६७ जनाले मतदान गर्नेछन् ।