२९ असार,सिड्नी ।
अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ।
अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ। ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ।
राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ।रासस/एएफपी
