पोखरामा श्रृङ्खलाबद्ध रुपमा ११ वडा कार्यालय लुटिए

साउन २३, पोखरा । पोखरामा चोरीको घटना बढ्दै गइरहेका छन् । चोरबाट सबैभन्दा असुरक्षित पोखरा महानगरपालिकाका वडा कार्यालयहरु भएका छन् ।

Advertisement

गत जेठ १२ गते पोखरा महानगरपालिकाका वडा नम्बर १२ को वडा कार्यालय फोडेर सुरु भएको कम्प्युटर चोरीको श्रृखला मंगलबार ११ औं श्रृंखलाको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामको कार्यालय चोरी भएको हो ।

वडा कार्यालयको राजश्व शाखाको कोठा फोडी दुई वटा कम्प्युटर चोरी भएको वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बताए। राति सवा १२ बजेतिर मास्क लगाएर अनुहार छोपेको मान्छेले चोरेको सीसी क्यामेरामा रेकर्ड रहेको उनले सुनाए । सीसी क्यामेराको रेकर्ड प्रहरीलाई बुझाइएको पनि उनले बताए । चोरले राजश्व शाखाको सीसी क्यामेरा पनि झिकेर लगेको छ ।

Advertisement

अहिलेसम्म पोखरा महानगरपालिकाको वडा नम्बर ५, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ वडामा चोरी भइसकेको छ । महानगरपालिकाले वडाबाटै कर लिने व्यवस्था गरेको छ ।

महत्वपूर्ण कागजात हुने कम्प्युटर एक पछि अर्को वडामा चोरी भएका हुन् । दुई महिना अघि पोखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयबाट एउटा ल्यापट र दुईवटा कम्प्युटर चोरी भएको वडाध्यक्ष कमलबहादुर थापाले बताए । ’कम्प्युटरका तथ्यांकका लागि चोरेको भनौँ भने हामी पारदर्शी रुपमा नै दिन्छौँ, त्यो किन गर्नुपर्‍यो ?’ चोरी रहस्यमय रहेको शंका गर्दै उनले भने ।

Advertisement

अहिलेसम्म महानगरपालिकाका सबै वडाका कम्प्युटर, ल्यापटप, प्रिन्टर, मनिटरसहित ३० भन्दा बढी सामग्री चोरी भएको महानगरपालिकाका जिन्सी शाखा प्रमुख किरण कोइरालाले जानकारी दिए। सबै सामग्री गरी करिब २२ लाख बराबरको चोरी भएको उनले सुनाए ।

वडा नम्बर ७ मा भने स्थानीय निर्वाचन अघि कार्यालय फोडेर त्यहाँ रहेको २५ सय रुपैयाँ चोरी भएको थियो ।

वडा कार्यालयमा चोरी नियन्त्रणका लागि सीसी क्यामेरा राखिए पनि चोरले मास्क लगाएर चोरी गर्ने गरेकोले अनुसन्धानमा प्रहरीलाई समस्या परेको छ। कार्यालयको सीसी क्यामेरामा चोरले कम्प्युटर चोर्दै गरेको देखिन्छ तर मास्क लगाएर मुख पूरा ढाकेकोले चोर पक्राउ गर्न प्रहरीलाई समस्या परेको हो ।

चोरीका घटना हुन नदिन महानगपालिकाले कार्यालयको सुरक्षाका लागि अर्को व्यवस्था नहुँदा सम्म वडा स्तरीय बजेटबाट रात्रिकालिन कर्मचारी व्यवस्था गर्ने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

यसै निणर्य अनुसार वडा कार्यालयमा चैत महिनादेखि वडाको सुरक्षाका लागि रात्रिकालिन कर्मचारी व्यवस्था गरेको वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका प्रवक्ता नेपालीले बताए। ५ नम्बर वडा कार्यालयमा गत माघ महिनामा राति कार्यालय फोरेर एउटा ल्यापटप र तीनवटा सीपीयु चोरी भएको थियो ।

पोखरामा चोरीका घटनामा संलग्न पक्राउ परिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए। वडा कार्यालय चोरी गर्ने भने अहिले सम्म पक्राउ नपरेको उनले बताए ।

सीसीक्यमेराको रेकर्ड हेरेर थप अनुसन्धान भइरहेको उनले सुनाए। चोरीका घटना न्यूनीकरण गर्ने अभियानका क्रममा १० दिन यता पोखराका विभिन्न स्थानमा चोरीमा संलग्न १२ जना भन्दा बढी पक्राउ परेको उनले बताए ।

यसरी पक्राउ पर्नेमा मोटरसाइकल चोरी गर्ने, नगद, मोबाइल लगायतका सामग्री चोरी गर्ने छन्। पक्राउ पर्नेमा १८ वर्ष भन्दा मुनीका धेरै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख कार्कीले बताए ।

अन्तर्राष्ट्रिय कानुनले १८ वर्षसम्मलाई नाबालक भनेकोले उनीहरुलाई बालसुधार गृहमा पठाउने गरेको उनले बताए ।

कुन कार्यालयमा कहिले चोरी भए ?

पोखरा–१२, २०७५, जेठ ३ गते
पोखरा –१४, २०७५, पुस १ गते
पोखरा –२९, २०७५, पुस १६ गते
पोखरा–५, २०७५, माघ ९ गते
पोखरा– १३, २०७५, फागुन २३ गते
पोखरा –१६, २०७५, चैत १० गते
पोखरा – ३१, २०७६, जेठ ६ गते
पोखरा –२५, २०७६, असार १३ गते
पोखरा –६, २०७६, साउन २० गते

यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top