भदौ ११, विराटनगर । प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसके पनि अझैसम्म प्रदेश १ को नाम टुंगो लाग्न सकेको छैन । प्रदेशको स्थायी राजधानीको विवाद टुंगिए पनि नामको विषयले भने अझैसम्म संसद्मा प्रवेश पाएको छैन ।
राजधानी टुंगो नलागुन्जेल सांसदहरूले सदनको शून्य समयमा बारम्बार विषय उठान गरे पनि स्थायी राजधानी टुंगो लागेपछि नामको विषयले त्यति महत्व पाएको छैन । प्रदेशको नामका विषयमा सत्तारुढ सांसदहरूकै बीचमा तीव्र मतभेद छ ।
प्रदेशमा बाहुल्यता रहेका जनजाति सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग राख्दै आएका छन् । पहिचानका आधारमा किरात, लिम्बुवान र खुम्बुवान नाम राख्न माग गर्दै विभिन्न जातीय संगठनहरूले पनि सांसद र प्रदेश सरकारलाई दबाब दिइरहेका छन् ।
प्रदेशको नामका विषयमा सत्तारुढ दलकै सांसदहरू एकमत नभएका कारण अलमल भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले बताए ।
दुई तिहाइ बहुमतको सरकार भएकाले सरकारले जुनसुकै नाम प्रस्ताव गरेपनि संसद्बाट पारित हुने स्थिति भएपनि सरकारले अझैसम्म नामको विषयमा छलफल नै नथालेको राईले बताएका छन् । प्रदेशको नाम सगरमाथा वा कोसी राख्ने विषयमा धेरै जोड भइरहे पनि अन्य नाममा सहमति भएर आए त्यसमा पनि आपत्ति नहुने सचेतक राईको भनाई छ ।
यता सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नामको विषय हिउँदे अधिवेशनमा मात्रै संसद्मा लैजाने तयारी भइरहेको बताएका छन् । कोसी, किरात र लिम्बुवान प्रदेशको नाम राख्नु पर्ने दबाब चर्को रहेको राजभण्डारीले बताए । एकल जातीय पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै किरात र लिम्बुवान नाम राख्न प्रदेशमा बाहुल्य रहेका जनजातिहरू राई र लिम्बूले चर्को दबाब दिइरहेका छन् ।
अन्यले भने जातीय आधारमा नभई भौगोलिक आधारमा सबैको अपनत्व हुनेगरी प्रदेशको नाम राख्न माग गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादीले जनयुद्ध कालमै एकल जातीय पहिचानका आधारमा राज्य दिने भन्दै पूर्वका जनजातिहरूलाई आश्वासन दिएको थियो।
हाल सरकारमा पनि रहेको र दुई तिहाइ बहुमत पनि भएकाले एकल जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने जनजाति अगुवाहरूले माग गर्दै आएका छन् ।
विषेशगरी हिन्दु धर्मका गुरूहरूले प्रदेशको नाम कोसी राख्न सरकारलाई दबाब दिइरहेका छन् । जगतगुरु कृष्णदासजी महाराजलगायतका हिन्दुधर्मका अगुवाहरूले प्रदेशको नाम कोसी नै उपयुक्त हुने तर्क गर्दै आएका छन् । उनीहरूले कोसीबाट प्रदेशको सभ्यताको विकास भएकाले प्रदेशको नाम पनि कोसी नै हुनुपर्ने बताइरहेका छन् ।
प्रदेशको नाम कोसी राख्नु धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्रदेशको सभ्यता विकासका हिसाबले पनि उपयुक्त हुने उनीहरूको तर्क छ । कोसीले हिमाल, पहाड र तराईलाई समेट्ने, प्रदेशको सभ्यताको विकास नै कोसीबाट भएकाले सबैले स्वीकार्न सक्ने साझा नाम कोसी नै भएको उनीहरूको तर्क छ ।
गत वर्ष संसद्को हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी टुंग्याइसकेको छ । स्थायी राजधानी सर्वसम्मत रुपमा टुंग्याएको प्रदेशसभाले नाम पनि सर्वसम्मत रुपमै राख्ने प्रमुख सचेतक राजभण्डारीले बताएका छन् ।