ट्रम्पको कुटनीतिः कहिले भारतलाई साथ, कहिले पाकिस्तानको पक्षमा

६ असोज ७६, मंगलबार

७ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुटनीतिमा भारत र पाकिस्तान नराम्ररी रुमल्लिन पुगेका छन् । परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि कश्मीर मामलामा विवाद हुँदै आएको छ । अमेरिकाले दुवै मुलुकलाई उत्तिकै महत्व दिँदै आए पनि अमेरिकी राष्ट्रपति ट्रम्पका व्यवहार र भनाइ कहिले भारतको पक्षमा त कहिले पाकिस्तानको पक्षमा देखिने गरेको छ ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत र सम्मान गरेका ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि उत्तिकै महत्व दिए । यतिमात्र होइन, इमरानसँग संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले मोदीको भाषण ‘आक्रामक’ रहेको भन्दै आफूले त्यस्तो अपेक्षा नगरेको बताए ।

‘भारत र प्रधानमन्त्री मोदीका तर्फबाट हिजो निकै आक्रामक बयान आएको छ, म त्यहीँ उपस्थित थिएँ,’ ट्रम्पले भने, ‘मलाई यस्तो सुन्नु पर्छ भन्ने थाहा थिएन । त्यहाँ उपस्थित मानिसहरुलाई मोदीका कुरा राम्रो लाग्यो तर त्यो निकै आक्रामक थियो ।’

Advertisement

मोदीले आइतबार ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा पाकिस्तानको नाम नलिइ भनेका थिए, ‘भारतको फैसलाबाट उनीहरुलाई अप्ठ्यारो परेको छ जसले आफ्नो देश सम्हाल्न सकेका छैनन् । उनीहरु उग्रवादलाई पालन पोषण गरिरहेका छन् ।’

इमरानसँगको भेटमा ट्रम्पले फेरि कश्मीर मामलामा मध्यस्थताका लागि आफू तयार रहेको बताए । उनले पटक पटक यस्तो भनाइ राख्दै आएका छन् । दुवै मुलुकले चाहेको अवस्थामा आफू मध्यस्थताका लागि तयार रहेको ट्रम्पको भनाइ थियो । मोदीसँगको भेटमा भने ट्रम्पले मध्यस्थताको कुरा गरेका थिएनन् ।

Advertisement

भारतले कश्मीर मामलामा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गर्दै आएको छ ।

ट्रम्पले भने, ‘मलाई मध्यस्थताका लागि भनियो भने म तयार हुनेछु, यसका लागि म सक्षम पनि छु, यो कठिन काम हो । लामो समयदेखि विवाद रहँदै आएको छ । दुवै मुलुकले चाहेमा म मध्यस्थताका लागि तयार छु । तर भारत पनि तयार हुनुपर्छ ।’

उनले पाकिस्तान र इमरान खानको प्रशंसा पनि गरे । उग्रवाद नियन्त्रणका लागि पाकिस्तानले निकै प्रगति गरेको उनको भनाइ थियो ।

जवाफमा पाकिस्तानी प्रधानमन्त्रीले पनि अमेरिकी राष्ट्रपतिको प्रशंसा गरे । ट्रम्पले विश्वकै शक्तिशाली मुलुकको नेतृत्व गर्दै आएको जिकिर गर्दै इमरानले भने, ‘विश्वको शक्तिशाली मुलुकको दायित्व हुन्छ । तपाईले मध्यस्थताको प्रस्ताव गर्नुभयो र यसका लागि दुवै देश तयार हुनुपर्ने भन्नुभयो, तर दुर्भाग्य ! भारत वार्ताका लागि अस्वीकार गर्दै आएको छ ।’

उनले कश्मीर विवाद निकै ठूलो संकट बन्ने चेतावनी दिए । उनले अमेरिकालाई यस विषयमाथि सुरक्षा परिषदको बैठकमा दृढ रुपमा प्रस्तुत हुन आग्रहसमेत गरे ।

यसअघि मोदीसँगको भेटमा ट्रम्पले मोदी आफ्नो एक असल मित्र रहेको बताएका थिए ।

कश्मीर मामलामा भारत र पाकिस्तानको फरक फरक अडान र मान्यता छन् । यी दुवैखाले मान्यतामा अमेरिकी दृष्टिकोण भने प्रष्ट आइसकेको छैन । कश्मीर मामलामा भारतको कदम सही हो वा पाकिस्तान सही छ भन्नेबारे अमेरिका मौन छ । दुवै मुलुकसँगको सम्बन्धलाई लिएर अमेरिका सचेत देखिएको छ ।

यद्यपि पाकिस्तान र भारत दुवैले कश्मीर मामलामा अमेरिकाको साथ आफूलाई रहेको दावी गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top