१८ असोज, काठमाडौं ।
पाँच देशको सहभागिता रहेको ओमान पेन्टाङ्गुलर सिरिजमा घरेलु टिम ओमानले हङकङलाई सात विकेटले पराजित गरेको छ ।
हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
ओमानको जितमा जिशान मक्सुदले ३१ रनको अविजित पारी खेले । त्यस्तै खवार अलीले १४ तथा अकिब इलियासले १३ रन बनाए ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हङकङ २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । ओमानको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको हङकङ चार खेलाडीलेमात्र १० रन कटाउन सके ।
त्यस्तै हरुन अर्सदले सर्वाधिक १९ रन बनाए भने अहसन अब्बासी र निजाकत खानले १७–१७ रन बनाए ।
वाक्स बर्कतले १५ रन जोडे । बलिङतर्फ मोहम्मद नदिमले दुई विकेट लिए भने बिलाल खान, अमिन कलिम र खावार अलिले एक एक विकेट लिए ।